
डिडिसीको बिक्री कक्ष भरतपुरमा
काठमाडौं । भरतपुरको विशाल चोकमा दुग्ध विकास संस्थान (डिडिसी) को बिक्री कक्ष सञ्चालनमा आएको छ । संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र भरतपुर महानगरपालिका-११ का वडाध्यक्ष कमलबहादुर मल्लले संयुक्त रूपमा शुभारम्भ गरेका हुन् ।
बिक्री कक्षमा संस्थाको मात्रै उत्पादन बिक्री हुने छ । दूध, दही, घिउ, पनिर, चिजलगायतका २० परिकार उपलब्ध रहेको प्रसिद्ध दुग्धजन्य पदार्थ तथा जनरल स्टोर्सका सञ्चालक प्रदीप पण्डितले बताए । नागरिकको सुविधा र गुणस्तरका लागि बिक्री कक्ष सुरु गरेको उनले बताए । संस्थान सरकारको पूर्ण स्वामित्वमा रहेको एक सार्वजनिक संस्थान हो । यसले ग्रामीण क्षेत्रका किसानहरूबाट दूध संकलन गरी विभिन्न दुग्धजन्य उत्पादनहरू तयार पार्छ र सहरी क्षेत्रका उपभोक्ताहरूलाई आपूर्ति गर्दछ ।
संस्थानका महाप्रबन्धक पाण्डेले चितवनका विभिन्न क्षेत्रमा गरी संस्थानको मात्र उत्पादन बिक्री गर्ने १० वटा बिक्री कक्ष तीन महिना भित्रमा सञ्चालनमा ल्याउने बताए । जिल्लाको भरतपुर, सौराहा, रत्ननगर, पश्चिम चितवन र माडीमा कक्ष सञ्चालनमा ल्याइने उनले जानकारी दिए । डिडिसीको उत्पादन मात्र बिक्री हुने कक्ष देशभरमा हालसम्म ३५ छन् ।
हाल काठमाडौँको बालाजु, हेटौँडा, विराटनगर, बुटवल, नेपालगञ्ज र धनगढीमा संस्थाको दुग्ध प्रशोधन उद्योग छ । निकट भविष्यमा पोखरामा उद्योग सञ्चालन गर्ने तयारी गरिएको छ । हाल संस्थानले दैनिक ३५ हजार लिटर दूध संकलन गरी प्रशोधन गरेर बजार पठाउने गरेको छ ।


