
मञ्जुश्री फाइनान्सको लाभांश लिन एक महिनाभित्र विवरण अद्यावधिक गर्न आग्रह
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले लामो समयदेखि नगद लाभांश बुझ्न बाँकी रहेका शेयरधनीलाई आफ्नो बैंक खाता तथा हितग्राही (डिम्याट) खाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।
कम्पनीले विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश शेयरधनीको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गर्ने व्यवस्था गरेको भए पनि कतिपय शेयरधनीले बैंक खाता अद्यावधिक नगरेका कारण लाभांश भुक्तानी हुन नसकेको जनाएको छ।
कम्पनीले कात्तिक २२ गते सूचना जारी गर्दै आफ्नो डिम्याट खातामा बैंक खाताको विवरण अद्यावधिक नगराएका शेयरधनीलाई आफूले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य (डीपी) मा सम्पर्क गरी आवश्यक विवरण अद्यावधिक गर्न अनुरोध गरेको हो। यसका लागि शेयरधनीले आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गरी कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको बैंक खाता नम्बरसमेत उपलब्ध गराउनुपर्नेछ।
त्यस्तै, बैंक खाताको विवरण डिम्याट खातामा प्रविष्ट गर्दा त्रुटि भएका कारण नगद लाभांश प्राप्त गर्न नसकेका शेयरधनीको विवरण पनि कम्पनीले सार्वजनिक गरेको छ। उक्त विवरण कम्पनीको शेयर रजिष्ट्रार एनआईएमबीएस क्यापिटलको वेबसाइट तथा मञ्जुश्री फाइनान्सको वेबसाइटमा उपलब्ध गराइएको छ। सम्बन्धित शेयरधनीले आफ्नो निक्षेप सदस्यमा सम्पर्क गरी विवरण सच्याउनुपर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार पाँच वर्षसम्म पनि दाबी गर्न नआएको लाभांश रकम नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको लगानीकर्ता संरक्षण कोषको सचिवालयमा जम्मा गरिनेछ। त्यसैले सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र आवश्यक विवरण अद्यावधिक गरी बाँकी लाभांश लिन कम्पनीले आग्रह गरेको छ।


