
एलआईसी नेपालको वित्तीय विवरण : नाफा साढे ९ करोड माथि, अन्य सूचक कस्ता ?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा साढे ९ करोड माथिको नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा ९ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको हो ।
कम्पनीको नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा साढे १० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १०.५२ प्रतिशतले घटी हो । गत वर्षको सोहि अवधिमा कम्पनीले १० करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । कम्पनीको मुनाफा घटेसँगै त्यस्को प्रत्यक्ष प्रभाव प्रतिसेयर आम्दानीमा देखिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८८ पैसाबाट घटेर ७ रुपैयाँ ५० रुपैयाँ पौसामा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८०.१२ रुपैयाँ छ ।
समीक्षा अवधिमा नाफामा संकुचन आए पनि कम्पनीको व्यवसाय विस्तारको रफ्तार भने बलियो देखिएको छ । चालु वर्षको असोजसम्म कम्पनीले ५ अर्ब ४६ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ९.६२ प्रतिशतले बढी हो । यस्तै, खुद बीमाशुल्क आर्जन पनि ९.५६ प्रतिशतले बढेर ५ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको जीवन बीमा कोषको आकार १०.३१ प्रतिशतले बढेर १ खर्ब ५१ अर्ब ८ करोड २० लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब ९५ करोड ८१ लाख रुपैयाँ पुगेको छ । हाल ५ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी रहेको एलआईसी नेपालको रिजर्भ तथा कोषहरू गत असार मसान्तको तुलनामा थप मजबुत देखिएको छ । समीक्षा अवधिमा रिटेन्ड अर्निङस २ अर्ब ६५ करोड ६१ लाखबाट बढेर २ अर्ब ७४ करोड २४ लाख रुपैयाँ छ भने महाविपत्ति कोष ७७ करोड ३५ लाखबाट बढेर ७८ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।


