
ओडेगार्डको निर्णायक गोलमा आर्सनल विजयी
काठमाडौं । मार्टिन ओडेगार्डको निर्णायक गोलमा आर्सनलले प्रिमियर लिगमा हल सिटीलाई १–० ले पराजित गरेको छ। जितसँगै आर्सनलले लिगको शीर्ष स्थानमा दोस्रो स्थानको टोलीभन्दा ६ अंकको अग्रता बनाएको छ।
शनिबार इमिरेट्स स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा आर्सनलले गोलका लागि ७२औं मिनेटसम्म कुर्नुपरेको थियो। नोनी माडुकेको प्रहार हलका गोलरक्षक कोन्स्टान्टिनोस जोलाकिसले नियन्त्रणमा लिन नसकेपछि रिबाउन्डमा आएको बललाई ओडेगार्डले गोल गरेका थिए।
खेलको सुरुवातमा हलले आर्सनललाई दबाबमा राखेको थियो। जोन इगनको हेडर पोस्टको बाहिरी जालीमा लागेर बाहिरिँदा इलियट स्ट्राउडको प्रहारलाई आर्सनलका गोलरक्षक डेभिड रायाले बचाएका थिए।
पहिलो हाफमा आर्सनलले पनि केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। डेक्लान राइसका दुई प्रहार गोलमा परिणत हुन सकेनन्। काइ हाभर्ट्जमाथि फल भएको भन्दै आर्सनलले पेनाल्टीको माग गरे पनि भिएआर समीक्षापछि रेफ्रीले अफसाइडका कारण पेनाल्टी दिएनन्।
दोस्रो हाफमा हलले आक्रमणलाई निरन्तरता दिए पनि आर्सनलको रक्षापंक्ति तोड्न सकेन। क्रिस्टोस जोलिसको प्रहारले गोलरक्षक जोलाकिसको परीक्षा लिएको थियो।
ओडेगार्डको गोलपछि आर्सनलले अग्रता दोब्बर पार्ने अवसर पाए पनि सफल हुन सकेन। वैकल्पिक खेलाडी मिकेल मेरिनो र भिक्टर योकेरेसको प्रहारलाई जोलाकिसले बचाए। माडुकेको अर्को प्रहार गोललाइनबाट ब्रुक नोर्टन-कफीले क्लियर गरेका थिए।
जितसँगै आर्सनलले लिगमा आफ्नो प्रभाव कायम राखेको छ। यस सिजन ब्राइटनसँग ३–० ले पराजित भएको खेलबाहेक आर्सनलले अन्य खेलमा अंक गुमाएको छैन। यता हल सिटीको जितविहीन यात्रा ८ खेल पुगेको छ। हल १३औं स्थानमा छ।
लिड्स र एभर्टनको जित, फुलहम र न्युक्यासलले अंक बाँडे
प्रिमियर लिगमा शनिबार भएका खेलमा लिड्स युनाइटेड र एभर्टनले जित निकालेका छन्। फुलहम र न्युक्यासल युनाइटेडले भने १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। लिड्सले टोटेनहम हटस्परलाई १–० गोलले पराजित गर्यो। लिड्सको जितमा नोआ ओकाफोरले ७९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।
वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेको केही समयमै उनले गोल गरेका थिए। यस हारसँगै टोटेनहमको लगातार तीन खेलको जित यात्रामा पूर्णविराम लागेको छ।
फुलहम र न्युक्यासलबीचको खेल १–१ गोलको बराबरीमा सकियो। न्युक्यासलका ज्याकब मर्फीले खेलको अन्तिम समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, त्यसको तीन मिनेटपछि रोड्रिगो मुनिजले फुलहमका लागि बराबरी गोल फर्काए।
यसअघि शुक्रबार भएको खेलमा एभर्टनले कोभेन्ट्री सिटीलाई ३–१ गोलले हराएको थियो। एभर्टनका थियर्नो ब्यारीले ५६औं र ६१औं मिनेटमा दुई गोल गरे। किर्की ड्युजबरी-हलले ८१औं मिनेटमा तेस्रो गोल थपे। कोभेन्ट्रीका जिबोले ५२औं मिनेटमा एक गोल फर्काएका थिए।


