
हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि लम्बियो
काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओमा आवेदन दिन सेमय थप भएको छ । कम्पनीले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको हो ।
कम्पनीको आईपीओमा अब स्थानीय बासिन्दाहरुले मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन् । यद्यपि, मागभन्दा बढी आवेदन परेमा सोभन्दा अगावै जुनसुकै समयमा पनि सूचना प्रकाशित गरी निष्काशन तथा बिक्री बन्द गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १६ करोड ९० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १६ लाख ९० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । सोमध्ये १० लाख १४ हजार कित्ता सेयर आयोजनाको अति प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी रहेको ६ लाख ७६ हजार कित्ता ती दुबै गाउँपालिकाका अन्य वडाहरुका स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा कार्यालय तथा लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सनेन्टसन काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।


