
सन नेपाल लाइफको नाफा साढे २४ करोड, इपीएस कति ?
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा साढे २४ करोड पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा २४ करोड ४९ लाख रुपैयाँ पुगेको हो ।
चालु आवको पहिलो तीन महिनाको नाफा गत आवको सोही अवधिको तुलनामा २.३६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको असोजसम्म कम्पनीले २३ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
हाल ५ अर्ब २८ करोड २७ लाख रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीको जगेडा कोष र अन्य वित्तीय सूचकहरू मजबूत देखिएका छन् । समीक्षा अवधिसम्म कम्पनीको सेयर प्रिमियम १ अर्ब ३० करोड १० लाख रुपैयाँ रहेको छ भने महाविपत्ति कोष २८ करोड ७२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै समीक्षा अवधिमा रिटेन्ड अर्निङः ७७ करोड ७१ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ३५ करोड ६ लाख रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोषको आकार ३.२१ प्रतिशतले बढेर १३ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब ९० करोड ३६ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको कुल बीमाशुल्क आर्जन चालु वर्षको असोजसम्म कम्पनीले १ अर्ब २९ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब ८ करोड ३४ लाख रुपैयाँ तुलनामा २० प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, कम्पनीको कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १९.६७ प्रतिशतले बढेर १ अर्ब २४ करोड ६४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा कम्पनीले १ अर्ब ४ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । चालु आर्थिक वर्षको असोजसम्म कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १८.५५ रुपैयाँ कायम भएको छ । प्रतिसेयर नेटवर्थ १५१.४१ रुपैयाँ रहेको छ।


