
बोर्डबाट दुई दिनमा दुई कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पछिल्लो दुई दिनमा दुई कम्पनीलाई आईपीओ निष्काशनको स्वीकृती दिएको छ । शुक्रबार आशुतोष इनर्जी लिमिटेडले आईपीओ निष्काशनको स्वीकृति पाएसँगै बोर्डबाट पछिल्ला दुई दिनमा आईपीओको स्वीकृति पाउने कम्पनीको संख्या दुई पुगेको हो ।
बोर्डले आशुतोष इनर्जी कम्पनीलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ बिक्रीका लागि अनुमति दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले अब निष्कासन प्रक्रिया अगाडि बढाउनेछ ।
बोर्डले अघिल्लो दिन मात्रै कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडलाई पनि आईपीओ जारी गर्नका लागि स्वीकृति दिएको थियो । यो कम्पनीले १७ लाख कित्ता आईपीओ बिक्रीका लागि अनुमति पाएको हो ।


