
बरुण हाइड्रोपावरको खुद नाफा र आम्दानीमा सकारात्मक वृद्धि
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा र आम्दानीमा वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा र आम्दानीमा वृद्धि देखिएको हो ।
सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले २ करोड २६ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.२४ प्रतिशतले धेरै हो । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा १ करोड ८९ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीमा भएको वृद्धि र वित्तीय खर्चमा आएको कमीले कम्पनीको नाफालाई बढाउनमा भूमिका खेलेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेर ४ करोड १४ लाख २६ हजार रुपैयाँ पुगेको छ । जुन गत वर्षको सोही अवधिमा ३ करोड ९४ लाख ७३ हजार रुपैयाँ रहेको थियो । कुल ग्रस प्रोफिट ३ करोड ५० लाख रुपैयाँ कायम भएको छ भने सञ्चालन मुनाफा ३ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको वित्तीय खर्च गत वर्षको ६४ लाख ५७ हजार रुपैयाँबाट घटेर ४५ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ । जसले ऋणको भार घट्दै जाँदा खुद नाफालाई सीधा टेवा पुगेको स्पष्ट पार्छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ११ करोड ३६ लाख १८ हजार रुपैयाँ सञ्चित रहेको छ ।
वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर ८ रुपैयाँ ७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ४० पैसा रहेको छ ।


