
सेबोनको नयाँ आईटी नीति लागू, अब ब्रोकरदेखि नेप्सेसम्म साइबर सुरक्षा कडा
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र तथा वस्तु विनिमय बजारलाई थप सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति २०८३’ लागू गरेको छ। बोर्डले कात्तिक १८ गतेदेखि लागू हुने गरी नयाँ नीति कार्यान्वयनमा ल्याएको हो। नीतिमार्फत धितोपत्र बजारसँग सम्बन्धित निकायको प्रविधि प्रयोग, साइबर सुरक्षा, बजार पूर्वाधार, डिजिटल रूपान्तरण तथा नियामकीय प्रविधिको प्रयोगलाई एउटै संरचनाभित्र व्यवस्थित गर्न खोजिएको छ।
नयाँ नीतिअनुसार धितोपत्र बजारसम्बद्ध निकाय तथा बजार पूर्वाधार संस्थालाई सुरक्षा मापदण्डका आधारमा तीन तहमा वर्गीकरण गरिनेछ। पहिलो तहमा सेबोन, बजार सञ्चालक तथा केन्द्रीय निक्षेप सेवा, दोस्रो तहमा धितोपत्र दलाल व्यवसायी, धितोपत्र व्यापारी र मर्चेन्ट बैंकर तथा तेस्रो तहमा क्रेडिट रेटिङ एजेन्सी र सेयर रजिस्ट्रार रहनेछन्।
सेबोनले सूचना प्रविधिको व्यवस्थित प्रयोगमार्फत धितोपत्र बजार तथा वस्तु विनिमय बजारलाई डिजिटल रूपान्तरणतर्फ लैजाने लक्ष्य लिएको छ। नीतिमा रेगुलेटरी स्यान्डबक्समार्फत फिनटेकलगायत उदाउँदा प्रविधिको परीक्षण र प्रयोगलाई समेत सहजीकरण गर्ने व्यवस्था गरिएको छ।
बजार कारोबार, राफसाफ तथा फर्छ्यौट प्रणाली, केन्द्रीय निक्षेप प्रणाली र वेयरहाउससम्बन्धी अभिलेखको दिगो, भरपर्दो र सुरक्षित प्रयोगका लागि विपद् पुनःप्राप्ति संयन्त्र स्थापना र व्यवस्थापन गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
यसैगरी बजार पूर्वाधार संस्था र व्यवसायीले व्यवसाय निरन्तरता योजना (BCP) तथा विपद् पुनर्स्थापना योजना (DRP) तयार गर्नुपर्नेछ। BCP र DRP को वार्षिक परीक्षण अनिवार्य गरिने र त्यससम्बन्धी प्रतिवेदन बोर्डमा पेश गर्नुपर्नेछ।
नयाँ नीतिले सूचना प्रविधिसम्बन्धी उपकरण तथा सेवा खरिद गर्दा विक्रेताको उचित परीक्षण, जोखिम व्यवस्थापन, सेवा स्तर सम्झौता, नियामकीय अडिट अधिकार तथा विक्रेता बहिर्गमन रणनीतिलाई समेत अनिवार्य बनाएको छ।
त्यस्तै बजार पूर्वाधार संस्थाले सुरक्षा सञ्चालन केन्द्र स्थापना गर्नुपर्ने वा मान्यता प्राप्त Managed Security Service Provider (MSSP) मार्फत चौबीसै घण्टा साइबर खतरा निगरानीको व्यवस्था मिलाउनुपर्नेछ। सेबोनले SupTech र RegTech को प्रयोग बढाउँदै नियमनलाई प्रभावकारी बनाउने र बजार गतिविधिलाई थप पारदर्शी तथा विश्वसनीय बनाउने लक्ष्य पनि नयाँ नीतिमार्फत लिएको छ।
बोर्डका अनुसार धितोपत्र बजारमा सूचना प्रविधिको बढ्दो प्रयोगलाई सुरक्षित, व्यवस्थित र उत्तरदायी बनाउँदै लगानीकर्ताको विश्वास अभिवृद्धि गर्नु नीतिको मुख्य उद्देश्य हो।
Loading Viewer...


