
नेपालमा इथिकल कन्टेन्ट क्रियसनका लागि टेकपाना र युनेस्कोद्वारा ५० जना कन्टेन्ट क्रियटर एकै ठाउँ
काठमाडौं । देशभरबाट छानिएका ५० जना कन्टेन्ट क्रिएटरलाई ‘एथिकल कन्टेन्ट क्रिएसन’ सम्बन्धी विशेष कार्यशाला आयोजना गरिएको छ । टेकपानाले संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) सँगको सहकार्यमा मङ्गलबार ललितपुरमा ‘वर्कशप अन अन्डरस्ट्यान्डिङ एथिकल कन्टेन्ट क्रिएसन’ सम्पन्न गरेको हो ।
पुल्चोकस्थित होटेल द प्लाजामा ‘टेकपाना कनेक्ट २०२६’ कार्यक्रम अन्तर्गत आयोजित कार्यशालामा देशका विभिन्न भागबाट छनोट भएर आएका ५० जना कन्टेन्ट क्रिएटरको सहभागिता थियो ।
डिजिटल युगमा कन्टेन्टको प्रभाव तीव्र रूपमा बढिरहेका बेला समाजप्रति उत्तरदायी, तथ्यपरक र नैतिक सामग्री निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
यस कार्यशालाका लागि टेकपाना र युनेस्कोले देशभरका कन्टेन्ट क्रिएटरलाई लक्षित गर्दै खुला आवेदन आह्वान गरेका थिए । प्राप्त सयौँ आवेदनमध्ये उनीहरूले उत्पादन गर्ने सामग्रीको प्रकृति, विषयवस्तुको प्राथमिकता तथा सामाजिक विविधतालाई प्रमुख आधार बनाएर समावेशी रूपमा ५० जना क्रिएटरलाई छनोट गरी काठमाडौं ल्याइएको थियो ।
कार्यशालाको उद्घाटन सत्रमा बोल्दै टेकपानाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिजय तिमल्सिनाले डिजिटल कन्टेन्ट केवल ‘भ्युज’ र ‘लाइक’ बटुल्ने माध्यम मात्र हुन नसक्ने स्पष्ट पारे । उनले भने, “कन्टेन्ट बनाउनु भनेको कुनै विषयमा भिडिओ, टेक्स्ट वा अडियो तयार पारेर प्रसारण गर्नु मात्र होइन । यसले समाजमा कस्तो असर पार्छ, कसलाई प्रभाव पार्छ, कानुनी रूपमा सही छ/छैन र नैतिक रूपमा कत्तिको जायज छ भन्ने कुरा अत्यन्त संवेदनशील हुन्छ । यस कार्यशालाबाट सहभागीले यी सबै पक्षमा गहन र व्यावहारिक ज्ञान हासिल गर्नुभएको छ भन्ने हाम्रो विश्वास छ ।”
कार्यक्रमको औपचारिक सुरुआत गर्दै नेपालका लागि युनेस्कोका प्रतिनिधि याको डु टोइटले समाजमा सही सूचना प्रवाह गर्न र डिजिटल स्पेसलाई मर्यादित बनाउन कन्टेन्ट क्रिएटरको भूमिका अग्रपंक्तिमा रहने धारणा राखे । टेकपानाका सहजकर्ताले ‘फ्याक्ट अर फेक?’ आइसब्रेकर सत्रमार्फत सहभागीलाई कार्यक्रमको उद्देश्य र आचारसंहिताबारे प्रस्ट पारेका थिए ।
दिनभर सञ्चालित विभिन्न सत्रमा सम्बन्धित क्षेत्रका विज्ञले सहभागीलाई व्यावहारिक ज्ञान र सीप प्रदान गरेका थिए । पहिलो सत्रमा वरिष्ठ प्रविधि पत्रकार तथा लेखक विश्वास रेग्मीले कन्टेन्ट क्रिएसनमा नैतिकताको सीमा र महत्त्वबारे चर्चा गरे । त्यसैगरी टेकपानाका फ्याक्टचेकर तथा अनुसन्धानकर्ता रञ्जिता उप्रेती र हिक्मत आचार्यले ‘द ट्रुथ ल्याब’ सत्रमार्फत डिजिटल दुनियाँमा फैलिने भ्रामक सूचनाको पहिचान गर्ने र तथ्य जाँच (फ्याक्ट चेक) गर्ने प्रक्रियाबारे अभ्यास गराए ।
डिजिटल प्लेटफर्ममा देखिने कानुनी चुनौतीबारे प्यारामाउन्ट लिगल एडभाइजरी सर्भिसेसका अधिवक्ता प्रबिन सुवेदीले प्रशिक्षण दिँदै साइबर कानुन, प्रतिलिपि अधिकार र कानुनी जोखिमबाट बच्ने उपाय प्रस्तुत गरे । प्राविधिक सीप विकासतर्फ कन्टेन्ट क्रिएटर निश्चल शर्माले स्तरीय भिडिओ खिच्ने प्रविधि तथा क्यामेरा चलाउने शैलीबारे सिकाए भने कन्टेन्ट क्रिएटरद्वय दिपेश त्रिपाठी र विनायक कुइँकेलले कन्टेन्टको आइडिया निर्माण, प्रभावकारी स्क्रिप्ट लेखन र सुरुवातमै दर्शकलाई बाँधेर राख्ने ‘हुक’ निर्माण गर्ने कलाबारे आफ्ना अनुभव बाँडे ।
कार्यशालाको उत्तरार्धमा आयुष श्रेष्ठ र योजना मगरले कन्टेन्ट निर्माणमा पछिल्लो समय चर्चामा रहेको एआईको जिम्मेवार र प्रभावकारी प्रयोगबारे प्रस्तुति दिए । त्यस्तै प्राध्यापक डा. गङ्गा पाठकले कन्टेन्ट क्रिएटर भ्युज र सामाजिक सञ्जालको तथ्यांकको पछि लाग्दा उत्पन्न हुने मानसिक तनाव व्यवस्थापन र अनलाइन सुरक्षाबारे मार्गदर्शन प्रदान गरिन् ।
दिनभरको सिकाइपछि सहभागी सम्पूर्ण ५० जना कन्टेन्ट क्रिएटरले समाजमा सकारात्मक, सत्य र नैतिक सामग्री मात्र उत्पादन तथा प्रवाह गर्ने सामूहिक ‘नैतिक कन्टेन्ट क्रिएटर प्रतिबद्धता’ व्यक्त गरेका थिए । सहभागीलाई प्रमाणपत्र वितरण र सामूहिक तस्बिर खिचेर औपचारिक सत्र समापन गरिएको थियो भने साँझ आयोजित नेटवर्किङ सत्रमा क्रिएटरले आपसी सहकार्य र अनुभव साटासाट गरेका थिए ।


