
म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। ३८ वर्षीय म्याक्सवेलले टि ट्वान्टी अन्तर्राष्ट्रियसँगै लिस्ट ए र प्रथम श्रेणी क्रिकेटबाट पनि संन्यासको घोषणा गरेका हुन्।
यसअघि उनले गत वर्ष जुनमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए। अब उनले घरेलु टि ट्वान्टी प्रतियोगिता बिग ब्यास लिग (बिबिएल) मा भने खेल्नेछन्। मेलबर्न स्टार्ससँग उनको सम्झौता सन् २०२७-२८ को सिजनसम्म रहेको छ।
म्याक्सवेलले अस्ट्रेलियाका लागि १ सय ३० टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा २ हजार ८ सय ९७ रन बनाएका छन्। उनी अस्ट्रेलियाका लागि टि ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्। उनको स्ट्राइक रेट १५४ भन्दा बढी छ।
उनले यसक्रममा ५ शतक प्रहार गरेका छन्। टि ट्वान्टी अन्तर्राष्ट्रियमा ५ शतक बनाउने विश्व कीर्तिमानमा उनी भारतका रोहित शर्मासँग संयुक्त रूपमा शीर्ष स्थानमा छन्।
म्याक्सवेलले आफ्नो अन्तर्राष्ट्रिय भविष्यबारे लामो समयदेखि छलफल भइरहेको बताएका छन्। टि ट्वान्टी विश्वकपअघि र पछि अस्ट्रेलियन टोली व्यवस्थापनसँग यस विषयमा पटक-पटक कुराकानी भएको उनले खुलाए।
‘टोली व्यवस्थापनबाट कुनै दबाब थिएन। हामीले केही समय निर्णय खुला राख्ने सहमति गरेका थियौं। आगामी शृंखलामा नयाँ खेलाडीलाई अवसर दिने योजना थियो। बंगलादेशमा पनि नयाँ खेलाडीले मौका पाएर राम्रो प्रदर्शन गरेको हामीले देख्यौं,’ उनले भने।
इंग्ल्यान्डको आगामी सीमित ओभरको भ्रमणमा मेलबर्नमा एक टि ट्वान्टी अन्तर्राष्ट्रिय खेल पनि हुनेछ। आफ्नो घरेलु मैदान एमसिजीमा विदाइ खेल खेल्ने सम्भावनाबारे समेत सोच बनाएको म्याक्सवेलले बताए।
‘एमसिजीमा विदाइ खेल खेल्न पाउने सानो आशा थियो। तर अस्ट्रेलियन टोलीले अहिले लिएको दिशा म बुझ्छु। सन् २०२८ को ओलम्पिकलाई समेत ध्यानमा राखेर आगामी १२ देखि २४ महिनामा टोलीमा धेरै परिवर्तन हुन सक्छ। नयाँ खेलाडीलाई अन्तर्राष्ट्रिय दबाबमा खेल्ने अवसर दिनु आवश्यक छ,’ उनले भने।
म्याक्सवेलले पछिल्लो १५ वर्षदेखि टि ट्वान्टी अन्तर्राष्ट्रियलाई आफ्नो घरजस्तै महसुस गरेको पनि बताएका छन्। तर अब आफ्नो शरीरलाई फिट राख्दै बिबिएलमा केन्द्रित हुने उनको योजना छ।
‘बिबिएलका लागि तयार हुन घुँडामा इन्जेक्सन लगाउने तयारी गरिरहेको थिएँ। अब आठ हप्ताको पुनर्स्थापना प्रक्रिया पूरा गरेर शरीरलाई बलियो बनाउनुपर्नेछ। करियरका बाँकी प्रतियोगितामा खेल्न सक्ने गरी फिट रहन शरीरमा थप समय लगानी गर्नुपर्ने बेला आएको छ,’ उनले थपे।
म्याक्सवेलले अस्ट्रेलियाका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल गत फेब्रुअरीमा ओमानविरुद्ध खेलेका थिए। टि ट्वान्टी विश्वकपको उक्त खेल अस्ट्रेलियाको प्रतियोगितामा अन्तिम खेल बनेको थियो। अस्ट्रेलिया समूह चरणबाटै बाहिरिएको थियो।


