
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा सामान्य घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोज मसान्तसम्म बैंकले ६७ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६९ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस आधारमा चालु आवको पहिलो त्रैमासमा बैंकको नाफा करिब ३ प्रतिशतले घटेको हो ।
बैंकको मुख्य आम्दानी स्रोत मानिने खुद ब्याज आम्दानीमा पनि सामान्य गिरावट आएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २ करोड ९८ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ७ करोड २४ लाख रुपैयाँ रहेको थियो । यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ पुगेको छ । इम्पेयरमेन्ट चार्ज रिभर्सलमा आएको सुधारका कारण बैंकको सञ्चालन नाफा भने बढेको छ । गत वर्षको पहिलो त्रैमासमा ९८ करोड ९३ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालू आवको सोही अवधिमा बढेर १ अर्ब ८ करोड २३ लाख रुपैयाँ पुगेको छ ।
व्यावसायिक आकारतर्फ हेर्दा असोज मसान्तसम्म बैंकको कुल सम्पत्ति १ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । बैंकले १ खर्ब ४९ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको निक्षेप तथा कर्जा प्रवाहमा सुधार देखिएको छ ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । गत वर्ष २७ रुपैयाँ ५७ पैसा रहेको ईपीएस चालू आवको पहिलो त्रैमासमा घटेर २६ रुपैयाँ ७४ पैसा कायम भएको छ । बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात भने केही बढेको छ । गत वर्ष १.७१ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर चालु आवको असोज मसान्तसम्म १.८३ प्रतिशत पुगेको छ ।
१० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ कोषमा ११ अर्ब रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा पनि घटेको छ । गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ४१ करोड रुपैयाँ रहेको वितरणयोग्य मुनाफा चालु आवको सोही अवधिमा घटेर २ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ ।


