
पृथ्वी राजमार्ग सोमबार ३ घण्टा बन्द रहने
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार तीन घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न सवारी आवागमन बन्द गर्न लागिएको जनाएको छ ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङ चितवनको जानकारीअनुसार सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ ।
निर्माण कार्यलाई सहज र सुरक्षित रूपमा सम्पन्न गर्न उक्त अवधिका लागि सडक पूर्ण रूपमा बन्द गर्न लागिएको हो । प्रशासनले निर्धारित समय अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न तथा सवारी व्यवस्थापनमा सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ । सडक बन्द हुने समयलाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्नसमेत प्रशासनले आग्रह गरेको छ ।


