
राष्ट्रियस्तरका विकास बैंक : ११३ प्रतिशतले बढ्यो नाफा, कुनको कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनासम्ममा देशका राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरूले वित्तीय पर्फर्मेन्समा उत्कृष्ट सुधार गर्दै कुल १ अर्ब ६७ करोड ५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। गत आर्थिक वर्षको यसै अवधिमा यी बैंकहरूको समग्र नाफा ७८ करोड ३४ लाख रुपैयाँ मात्र रहेको थियो। यस आधारमा हेर्दा, गत वर्षको तुलनामा यस वर्ष विकास बैंकहरूको नाफा ११३.२३ प्रतिशतले उकालो लागेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा लुम्बिनी विकास बैंक अगाडि रहेको छ । जसले तीन महिनासम्मको अवधिमा ३२ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत वर्ष यसै अवधिमा बैंक ३४ करोड ८५ लाख रुपैयाँ घाटामा रहेको थियो। त्यस्तै, ३२ करोड २४ लाख रुपैयाँ खुद नाफासहित मुक्तिनाथ विकास बैंक दोस्रो स्थानमा रहन सफल भएको छ। गत वर्ष २२ करोड ४७ लाख रुपैयाँ कमाएको मुक्तिनाथको नाफा यस पटक ४३.४४ प्रतिशतले वृद्धि भएको छ। तेस्रो स्थानमा रहेको गरिमा विकास बैंकले २४ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरे पनि गत वर्षको तुलनामा यसको नाफा ४.१७ प्रतिशतले घटेको देखिन्छ।
यस अवधिमा अन्य विकास बैंकहरूले पनि उल्लेख्य कारोबार गरेका छन् ।
कामना सेवा विकास बैंकले २३ करोड ११ लाख रुपैयाँ, ज्योति विकास बैंकले २० करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। यसैगरी, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १९ करोड ७६ लाख रुपैयाँ,महालक्ष्मी विकास बैंकले ११ करोड ६४ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले ३ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्।


