
कृषि विकास बैंकको नाफा १८०३ प्रतिशतले बढ्यो
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको असोज मसान्तसम्म कृषि विकास बैंकले १० करोड ९२ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । योे गत आवको तुलनामा १८०३.७१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ५७ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानीमा ३.७१ प्रतिशतले घटेर २ अर्ब ३६ करोड २५ लाख रुपैयाँमा झरेको छ। गत आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४५ करोड ३७ लाख रुपैयाँ रहेको थियो । गत आवमा ६ करोड ३२ लाख ३३ हजार रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको बैंकले चालु आवमा १५ करोड ६० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ। कर्जा जोखिम बापत छुट्याइने इम्पेयरमेन्ट खर्च १ अर्ब ४६ करोड ३८ लाख ५३ हजार रुपैयाँबाट २०.८० प्रतिशतले घटेर १ अर्ब १५ करोड ९४ लाख ४३ हजार रुपैयाँमा झरेपछि सञ्चालन मुनाफा धनात्मक बनेको हो।
बैंकको गैर-ब्याज आम्दानीतर्फ खुद शुल्क तथा कमिसन आम्दानी ५५.७४ प्रतिशतले उल्लेख्य वृद्धि भई ४७ करोड ९७ लाख २१ हजार रुपैयाँ पुगेको छ। शुल्क आम्दानीमा आएको आकर्षक वृद्धिकै कारण बैंकको कुल सञ्चालन आम्दानी ८.८६ प्रतिशतले बढेर २ अर्ब ८८ करोड ७४ लाख ७५ हजार रुपैयाँ पुगेको छ। गत आवमा २ अर्ब ४८ करोड ४७ लाख ३६ हजार रुपैयाँ रहेको कुल वितरणयोग्य मुनाफा ६८.२९ प्रतिशतले घटेर ७८ करोड ८० लाख २९ हजार रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा बैंकको वितरणयोग्य रकम ४७ करोड ४१ लाख ५६ हजार रुपैयाँ ऋणात्मक रहेको छ।
बैंकको कुल निक्षेप संकलन ०.३० प्रतिशतले बढेर ३ खर्ब ४८ अर्ब २७ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत आवमा बैंकले ३ खर्ब ४७ अर्ब २१ करोड ९८ लाख रुपैयाँ कुल निक्षेप संकलन गरेको थियो । बैंकको कर्जा तथा सापट १.३३ प्रतिशतले वृद्धि भई २ खर्ब ५० अर्ब ४२ करोड ८४ लाख रुपैयाँ कायम भएको छ।
समिक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात सामान्य बढेर ४.७९ प्रतिशत पुगेको छ। यस्तै, बैंकको पुँजीकोष अनुपात १२.५५ प्रतिशत, आधार दर ४.५९ प्रतिशत र ब्याजदर स्प्रेड ३.३७ प्रतिशत रहेको छ।
१९ अर्ब ७३ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भ कोषमा १८ अर्ब १७ करोड रूपैयाँ संचित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३.०५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३२.५८ रूपैयाँ रहेको छ ।


