
२२ करोड घाटाबाट १० करोड नाफामा सिटिजन्स बैंक, इपीएस कति ?
काठमाडौं । सिटिजन्स बैंक घाटाबाट नाफामा पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणबाट बैंक नाफामा पुगेको हो ।
विवरण अनुसार बैंक नाफासहित अधिकांश सूचकमा सुधार गर्न सफल भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकले १० करोड ७७ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंक २२ करोड ४ लाख ११ हजार रुपैयाँ खुद नोक्सानी रहेको थियो । समिक्षा अवधिमा बैंकको ब्याज आम्दानी १०.६५ प्रतिशत घटेर ३ अर्ब ६३ करोड ३० लाख ६५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ६ करोड ६३ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यता, बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५४ करोड १५ लाख १६ हजार रुपैयाँ गरेको छ । असोज मसान्तसम्मको अवधिमा इम्पेरिमेन्ट चार्ज १ अर्ब ७ करोड ८५ लाख २० हजार रुपैयाँ र सञ्चालन खर्च ८६ करोड ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य नाफा ४५ करोड ७७ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने सञ्चित नाफा ४४ करोड ८४ लाख १५ हजार रुपैयाँ रहेको छ । असोजसम्ममा बैंकको निक्षेप संकलन १२.७८ प्रतिशत बढेर २ खर्ब ४२ अर्ब ७३ करोड २७ लाख रुपैयाँ र कर्जा प्रवाह ४.२१ प्रतिशत बढेर १ खर्ब ८३ अर्ब ४९ करोड ५४ लाख रुपैयाँ गरेको छ ।
गत वर्षको असोजमा ६.८४ प्रतिशत रहेको खराब कर्जा चालु आवको असोजमा घटेर ५.७८ प्रतिशतमा झारेको छ । बैंकको प्रतिसेयर आम्दानी १४.१८ रुपैयाँ धनात्मक रहेको छ । गत वर्षको असोजमा बैंकको प्रतिसेयर आम्दानी ५.९७ रुपैयाँ ऋणात्मक थियो ।


