
बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध
बाजुरा । बाजुरामा आज बिहानदेखि इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध बनेको छ । नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहले साँफे–मार्तडी खण्डको नुनेपानीमा बिहीबार तार काटिएपछि सेवा अवरुद्ध भएको बताउनुभयो । उच्च गतिको फाइबर इन्टरनेटको तार काटेपछि जिल्लामा इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध भएको उनले बताए ।
मर्मतका लागि प्राविधिक टोली खटिएको छ । यस्तै, अवरुद्ध लाइन मर्मतमा केही समय लाग्ने भएपछि सदरमुकाम मार्तडीमा खप्तड छेडेदहको आटिचौरबाट लाइन जडान गरेपछि आंशिक रुपमा सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख सिंहले जानकारी दिए ।
दिनभर सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चार सेवासँगै विभिन्न कार्यालयका कामकाज, अनलाइन सेवा प्रवाह तथा सञ्चारसम्बन्धी गतिविधि प्रभावित भएका थिए ।


