
पहिलो तीन महिनामा १६ अर्ब बढीको एफडीआई स्वीकृत
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधि (साउन–असोज) मा १६ अर्ब भन्दा बढीको वैदेशिक लगानी स्वीकृत भएको छ । पहिलो तीन महिनामा १६ अर्ब २३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत भएको हो ।
उद्योग विभागका अनुसार असोज मसान्तसम्म कुल ४२२ उद्योग दर्ता भएका छन् । जसमा उक्त रकम बराबर लगानी प्रतिबद्धता आएको छ । गत आव २०८२/८३ असोजसम्म ३५ अर्ब १३ करोड बराबर एफडीआई स्वीकृत भएको छ । यस वर्ष लगानी प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ । उद्योग विभागका अनुसार असोजसम्म अटोमेटिक रुटबाट ४१० र अप्रुभल रुटबाट १२ उद्योग दर्ता हुन आएका छन् । असोजमा मात्र ५ अर्ब १० करोड बराबर एफडीआई स्वीकृत भएको छ । यस महिना कुल ९४ उद्योग दर्ता भएका छन् । जसमध्ये ८८ उद्योग अटोमेटिक रुटबाट दर्ता हुन आएको देखिन्छ ।
असोजसम्म दर्ता भएका उद्योगमध्ये अधिकांश साना प्रकृतिका छन् । असोज मसान्तसम्ममा साना उद्योग ४१७, मझौला २ र ठूला ३ मात्र दर्ता भएको विभागले जनाएको छ । असोजमा आएका सबै उद्योग साना प्रकृतिका थिए । यस वर्ष स्वीकृत लगानीमा संख्यात्मक रूपमा सूचना प्रविधिमूलक उद्योगको बाहुल्य छ । कुल २५२ उद्योग सूचना प्रविधिमूलक उद्योग दर्ता भएका छन् ।
त्यस्तै पर्यटनमूलक उद्योग १ सय ८, सेवामूलक ३३, उत्पादनमूलक २५ र ऊर्जा तथा कृषिमा २÷२ उद्योग दर्ता भएको विभागले जनाएको छ । रकमका हिसाबले सबैभन्दा ठूलो लगानी पर्यटनमा स्वीकृत भएको छ । पर्यटनमा कुल ६ अर्ब ८ करोड लगानी स्वीकृत भएको छ । ऊर्जामा ४ अर्ब र पूर्वाधारमूलक उद्योगमा ३ अर्ब ५७ करोड एफडीआई स्वीकृत भएको छ ।
उत्पादनमूलक उद्योगमा १ अर्ब ६० करोड र सूचना प्रविधिमूलकमा ९२ करोड ८३ लाख रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको विभागको तथ्यांक छ ।


