
नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट आजदेखि
चितवन । नेपाल र भारतबिच पर्यटन तथा हस्पिटालिटी क्षेत्रको सहकार्य विस्तार गर्ने उद्देश्यले ‘नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आइतबारदेखि सुरु हुँदैछ ।
कार्यक्रमका लागि भारतका विभिन्न सहरबाट आएका पर्यटन तथा ट्राभल व्यवसायीको टोलीलाई दिउँसो ३ बजे सुनौली सीमा नाकामा स्वागत गरिने भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेरचनले नेपाल र भारतबिच पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा सहकार्य विस्तार गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
चितवन आइपुगेका शेरचनले व्यावसायिक भेटघाट र अन्तरक्रियाले दुई देशबीच पर्यटन प्रवर्द्धन, लगानी विस्तार तथा आपसी सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
‘नेपाल र भारतबीच पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा सहकार्य विस्तार गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु,’ उनले भने ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा हुने कार्यक्रमको उद्घाटन एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष शेरचन, भारतको ट्राभल ट्रेड वेलफेयर एसोसिएसनका अध्यक्ष राजेश सिन्हा, इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंह र लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्की कार्यकारी निर्देशक शारदा बस्याल बेलबासेले संयुक्त रूपमा गर्ने कार्यक्रम छ ।
कार्यक्रमले नेपाल र भारतबीच पर्यटन सहकार्य, व्यावसायिक सम्बन्ध तथा पर्यटक आवागमन विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । नेपाली होटल, रिसोर्ट, ट्राभल कम्पनी तथा पर्यटन गन्तव्यलाई भारतीय बजारसँग जोड्ने, संयुक्त पर्यटन प्याकेज विकास गर्ने र दुवै देशका पर्यटन व्यवसायीबीच दीर्घकालीन साझेदारी निर्माण गर्ने आयोजकको लक्ष्य छ ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य भारतीय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्नु र नेपाली पर्यटकलाई भारतका गन्तव्यतर्फ आकर्षित गर्नु हो । पर्यटन व्यवसायीबीच सहकार्य बढाएर पर्यटक आवागमन, व्यावसायिक अवसर तथा स्थानीय आर्थिक गतिविधि विस्तार गर्न कार्यक्रमले सहयोग पुर्याउने उनले बताएका छन् ।
कार्यक्रमका संयोजक तथा आईएलए होटल्स एन्ड रिसोर्ट्स र मौलाकालिकाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाका अनुसार कार्यक्रमको तयारी पूरा भएको छ । भारतीय प्रतिनिधिमण्डलको स्वागत, गन्तव्य अवलोकन तथा पर्यटन व्यवसायीबीच छलफलका लागि आयोजक र आतिथ्य क्षेत्रका साझेदार तयार रहेको उनले जानकारी दिए ।
सुनौलीमा स्वागत तथा उद्घाटन कार्यक्रमपछि टोली रामग्राम नगरपालिकातर्फ प्रस्थान गर्नेछ । त्यहाँ नगरप्रमुख धनपत यादवले प्रतिनिधिमण्डललाई स्वागत गर्दै चियापान कार्यक्रम आयोजना गर्नेछन् । टोलीले बुद्धको पवित्र अवशेषसँग सम्बन्धित रामग्राम स्तूपको अवलोकन गर्ने कार्यक्रम छ ।
त्यसपछि टोली नवलपुरको अमलटारीस्थित थारू गाउँ रिसोर्ट पुग्नेछ । त्यहाँ स्थानीय आतिथ्य, पर्यटन गन्तव्यको परिचय, पर्यटन व्यवसायीबीच छलफल तथा व्यावसायिक साझेदारीका सम्भावनाबारे अन्तरक्रिया हुनेछ ।
आयोजकका अनुसार नेपाल र भारतबीचको भौगोलिक निकटता, सांस्कृतिक सम्बन्ध, धार्मिक आस्था र जनस्तरको सम्बन्धलाई पर्यटन तथा व्यावसायिक सहकार्यमार्फत थप मजबुत बनाउन सकिनेछ । चितवनको वन्यजन्तु तथा प्राकृतिक पर्यटन, नवलपुरको थारू संस्कृति र सामुदायिक पर्यटन, लुम्बिनीको बौद्ध सम्पदा तथा पोखराको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनलाई समेटेर संयुक्त पर्यटन प्याकेज विकास गर्ने सम्भावनाबारे पनि छलफल गरिनेछ ।
आयोजकले नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ लाई सीमापार भ्रमणमा मात्र सीमित नराखी व्यावसायिक सहकार्य, सांस्कृतिक आदानप्रदान, लगानी, रोजगारी सिर्जना र साझा आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य राखेको जनाएको छ ।


