
फोडेनको ह्याट्रिकमा सिटीको जित
काठमाडौं । फिल फोडेनको ह्याट्रिकप्रेरित प्रदर्शनमा म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा ग्रीसको एइके एथेन्सलाई ५-१ ले हराएको छ। गत साता साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ४–२ ले पराजित भएको सिटीले यसपटक उत्कृष्ट प्रदर्शन गर्दै जितको बाटोमा फर्किएको हो। फोडेनले ३ गोल गर्नुका साथै एक गोलका लागि पास मिलाए।
इलियट एन्डरसनले खेलको १२ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए। एन्जो फर्नान्डेजको फ्रिकिक क्रसबारमा लागेर फर्किएपछि एन्डरसनले रिबाउन्डमा गोल गरेका हुन्।
३४ औं मिनेटमा फोडेनले रिको लुइसको पासमा शक्तिशाली प्रहार गर्दै सिटीको अग्रता दोब्बर बनाए। तर, दोस्रो हाफ सुरु भएको सात मिनेटपछि स्टाभ्रोस पिलियोसले गोल गर्दै एइके एथेन्सलाई खेलमा फर्काउने प्रयास गरे। त्यसपछि सिटीले खेलमा पुनः पकड जमायो। ५७ औं मिनेटमा फोडेनको पासमा रायन चेर्कीले गोल गर्दै अग्रता बढाए। त्यसको केही समयपछि फोडेनले उत्कृष्ट प्रहारमा व्यक्तिगत दोस्रो गोल गरे।
खेल सकिन ११ मिनेट बाँकी छँदा फोडेनले नजिकबाट अर्को गोल थप्दै ह्याट्रिक पूरा गरे। सिटीले अब शनिबार प्रिमियर लिगमा एस्टन भिल्लाको सामना गर्नेछ।


