
दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले दसैँका लागि लक्षित गरी काठमाडौं उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवामार्फत दुई दिनमा एक हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् ।
सशस्त्रका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले सोमबार ४५० जना र मंगलबार ६१३ जना सर्वसाधारणले उक्त सेवा लिएको जानकारी दिए । उनका अनुसार सुरुमा तीन दिनका लागि निःशुल्क सुरु गरिएको उक्त सेवा आवश्यकताअनुसार थप एक दिन थप गर्न सकिनेछ ।
सशस्त्रले काठमाडौं उपत्यकाभित्र सर्वसाधारणका लागि सोमबारदेखि दुईवटा निःशुल्क बस सञ्चालन गरिरहेको छ । यो सेवा बिहान ८ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म सञ्चालन भइरहेको छ ।
उपत्यकामा सञ्चालित बसमध्ये एउटा बस कलंकीदेखि बल्खु हुँदै कोटेश्वरसम्म तथा अर्को बस बालाजु र नयाँ बसपार्क हुँदै चक्रपथमा सञ्चालन भइरहेको छ ।
सशस्त्र प्रहरीले दसैँ तथा तिहारको अवसरमा यात्रुको यात्रालाई सहज बनाउन उपत्यकाबाहिर सशस्त्र प्रहरी परिवारसहित अन्यका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको जनाएको छ ।
दसैँको घटस्थापनादेखि पूर्णिमासम्म तथा तिहारको अवधिभर काठमाडौंबाट झापाको काँकरभिट्टा र कञ्चनपुरको गड्डाचौकीसम्म दैनिक दुईवटा बस बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी र उनीहरूका परिवार तथा अन्यका लागि निःशुल्क सञ्चालन भइरहेको जनाइएको छ ।


