
एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण र खेल सञ्चालनसम्बन्धी नियम कडा हुने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपिएल सञ्चालनका लागि आइसिसीको मापदण्डअनुसार आवश्यक व्यवस्था गरिने जानकारी दिएका हुन् ।
प्रतियोगितामा सहभागी विदेशी खेलाडीले सम्बन्धित क्रिकेट बोर्डबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्नेछ भने म्याच फिक्सिङ र स्पट फिक्सिङ नियन्त्रण गर्न आइसिसीको भ्रष्टाचारविरोधी आचारसंहिता लागू गरिने उनले बताए ।
“फ्रेन्चाइज क्रिकेटमा हुन सक्ने अनियमितता रोक्न आइसिसीको एन्टी-करपशन युनिट (एसीयू) का नियमहरू कडाइका साथ लागू गरिनेछ । नेपालको कानुन र आइसिसीको आचारसंहिता दुवै यसमा लागू हुने हुँदा खेलाडी, टिमधनी तथा सबै सरोकारवालाहरूले थप जिम्मेवार र सतर्क हुनुपर्नेछ”, सचिव खड्काले भने ।
उनका अनुसार आइसिसीको प्रावधानअनुसार प्रतियोगिता सुरु हुनुभन्दा अघिल्लो छ महिनाको अवधिमा गैरकानुनी वा सम्बन्धित निकायबाट स्वीकृति नलिएको क्रिकेट प्रतियोगिता खेलेका खेलाडी एनपीएलमा सहभागी हुन पाउने छैनन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका विदेशी खेलाडीले समेत सम्बन्धित क्रिकेट बोर्डबाट एनओसी लिनुपर्ने व्यवस्था छ ।
“अन्तरराष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका विदेशी खेलाडीले एनपिएल खेल्नका लागि आ–आफ्नो देशको क्रिकेट बोर्डबाट अनिवार्य रूपमा एनओसी लिनुपर्नेछ । आइसिसी वा सम्बन्धित क्रिकेट बोर्डबाट स्वीकृति नलिएका प्रतियोगिताहरू एनपिएल सुरु हुनुभन्दा अघिल्लो छ महिनाको अवधिमा खेलेका खेलाडीहरू यसपटकको एनपिएलमा खेल्न योग्य हुने छैनन्”, सचिव खड्काले भने ।
यस प्रतियोगिताको तेस्रो संस्करण सकिएलगत्तै ६० दिनभित्र हामीले यसको समीक्षा प्रतिवेदन बुझाउनुपर्नेछ । विदेशी खेलाडीसम्बन्धी नियमः यसपटक प्रत्येक फ्रेन्चाइज टिमले कम्तीमा छ देखि बढीमा आठ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् । खेलमा सहभागी हुने अन्तिम ११ खेलाडीमा सात नेपाली र चार विदेशी खेलाडी अनिवार्य समावेश गर्नुपर्नेछ ।
एनपिएलमा निर्णय पुनरावलोकन प्रणाली (डिआरएस) लागू गर्ने विषयमा तयारी अन्तिम चरणमा पुगेको सचिव खड्काले जानकारी दिए । यसबारे केही दिनभित्र औपचारिक निर्णय सार्वजनिक गरिने उनले जानकारी दिए ।
“एनपिएलमा डिआरएस लागू गर्ने विषयमा छलफल भइरहेको छ । यसबारेमा सोमबारसम्ममा औपचारिक जानकारी दिइनेछ”, सचिव खड्काले भने । क्यानले आगामी नोभेम्बर १९ देखि २१ सम्म काठमाडौँमा आइसिसी एसिया सम्मेलन आयोजना गर्नेभएको छ । सम्मेलनमा एसियाका टेस्ट तथा एसोसिएट राष्ट्रका क्रिकेट संघका अध्यक्ष, सचिव र प्रमुख कार्यकारी अधिकृत सहभागी हुने सचिव खड्काले जानकारी दिए । उनका अनुसार सम्मेलनमा एसियाली क्रिकेटको नीतिगत विकासका विषयमा छलफल हुनेछ ।


