
नेपाली कामदारको सुरक्षा र सेवा प्रवाह प्राथमिकतामा राख्ने राजदूत सुनारको प्रतिबद्धता
काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले साउदी अरबमा कार्यरत नेपाली कामदारको सुरक्षा, सेवा प्रवाहमा सुधार र द्विपक्षीय सम्बन्ध सुदृढीकरणलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राख्ने बताएका छन्।
बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सुनारले श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन, नेपाली कामदारले भोग्दै आएका समस्या समाधान र मृतकको शव नेपाल ल्याउने प्रक्रियालाई छिटो बनाउने प्रतिबद्धता जनाएका हुन्।
सन् २०२७ मा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुँदैछ। उक्त अवसरलाई द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्ने सुनारले बताए। सरकारी तथ्यांकअनुसार हाल साउदी अरेबियामा करिब ३ लाख ८५ हजार नेपाली कामदार कार्यरत छन्।
सुनारले विशेषगरी श्रम सम्झौताको अभाव र ‘हुरुब’ अर्थात् कामदारले रोजगारदाता छाडेर भागेको आरोप लगाइने अवस्थाका कारण नेपाली कामदारले भोग्नुपरेका समस्याप्रति चासो व्यक्त गरे। उनले कामदारको हकहित संरक्षण र दूतावासबाट प्रदान गरिने सेवा प्रभावकारी बनाउन पहल गर्ने बताए।
आफ्नो १०० दिने कार्ययोजना प्रस्तुत गर्दै सुनारले पहिलो ३० दिनभित्र दूतावासमा विचाराधीन मुद्दा तथा समस्याको लेखाजोखा गर्ने योजना अघि सारे। त्यस्तै, राहदानी नवीकरण र प्रमाणीकरणमा देखिएका झन्झट हटाउन अनलाइन प्रणालीलाई प्रभावकारी बनाउने उनको योजना छ।
राहदानी वितरण प्रक्रियालाई छिटो र सहज बनाउन राष्ट्रिय परिचयपत्रको विवरणसँग प्रणाली आबद्ध गर्ने तथा दूतावासमा अरबी भाषा जान्ने दोभासेको व्यवस्था गर्ने पनि उनले बताए।
आर्थिक कूटनीतिलाई प्राथमिकता दिने उल्लेख गर्दै सुनारले साउदी अरेबियाका नियोम, रेड सी र किदिया जस्ता ठूला परियोजनामा नेपाली दक्ष कामदारको सहभागिता बढाउन पहल गर्ने बताए। साथै, नेपालमा साउदी लगानी भित्र्याउने, दुई देशबीचको व्यापार घाटा कम गर्ने र दोहोरो कराधानसम्बन्धी समस्या समाधानका लागि पहल गर्ने उनको योजना छ।
नेपाली कामदारको मृत्यु भएपछि शव नेपाल पठाउन लाग्ने समय घटाएर सात दिनभित्र प्रक्रिया पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता पनि सुनारले जनाएका छन्।


