
मितेरी पुलमा ११ किलोभन्दा बढी चरेससहित नेपाली नागरिक पक्राउ
रौतहट । वीरगन्ज–रक्सौलबिचको मितेरी पुलबाट ११ किलोभन्दा बढी लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठुलो परिमाणमा लागूऔषध लैजाँदै गरेको विशेष सूचनाका आधारमा एसडीपीओ मनिष कुमार आनन्दको कमान्डमा प्रहरी र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोली परिचालन गरिएको थियो।
टोलीले शनिबार साँझ वीरगन्जबाट रक्सौलतर्फ आउँदै गरेको शंकास्पद ई–रिक्सा रोकेर जाँच गरेको थियो। जाँचका क्रममा रिक्साभित्र राखिएको बोराबाट २२ वटा कालो प्याकेटमा प्याक गरिएको ११ किलो २४६ ग्राम चरेस बरामद भएको भारतीय प्रहरीले जनाएको छ। चरेससहित पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–छपकैया निवासी ३९ वर्षीय अमर चौधरी रहेका छन्।
एसएसबीका अनुसार पक्राउ परेका चौधरीलाई बरामद चरेससहित आवश्यक कानुनी कारबाहीका लागि रक्सौलस्थित हरैया थानाको जिम्मा लगाइएको छ। प्रहरीका अनुसार बरामद लागूऔषध मकवानपुर जिल्लाका विभिन्न स्थानबाट ल्याएर बारा र पर्सा हुँदै भारततर्फ लैजान खोजिएको प्रारम्भिक विवरण छ।
नेपाली भूभाग हुँदै ठुलो परिमाणमा लागूऔषध वीरगन्जसम्म ल्याएर सीमावर्ती क्षेत्र पार गर्न खोजिएको घटनाले नेपालतर्फको सुरक्षा तथा चेकजाँच प्रणालीबारे पनि प्रश्न उठाएको छ।


