
चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सेयर बजारमा आज कारोबार हुने सेयरमध्ये चार कम्पनीका सेयरधनीका लागि विशेष दिन रहेको छ। कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश प्राप्त गर्न आजसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ।
यी कम्पनीहरूले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आगामी असोज १९ गते बुक क्लोज गर्दैछन्। त्यसैले असोज १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले सम्बन्धित कम्पनीको लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा समेत सहभागी हुन पाउनेछन्।
कुमारी बैंकले सेयरधनीलाई कर प्रयोजनका लागि २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको साधारण सभा असोज २८ गते सिल्भर ओक बैंक्वेट एन्ड इभेन्ट्स, सुवर्ण शमशेर सडक, काठमाडौंमा हुँदैछ।
सिटिजन्स बैंक इन्टरनेश्नलले भने ३.८ प्रतिशत बोनस सेयर र ०.२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकको साधारण सभा पनि असोज २८ गते अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा आयोजना हुँदैछ।
यता विकास हाइड्रोपावर कम्पनीले १० प्रतिशत बोनस सेयरसँगै ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारण सभा असोज २९ गते होटल स्मार्ट दरबार, धुम्बाराही, काठमाडौंमा बोलाइएको छ। सानिमा मिडिल तमोर हाइड्रोपावरका सेयरधनीले भने ५.२६३ प्रतिशत नगद लाभांश पाउनेछन्। कम्पनीको साधारण सभा असोज ३० गते कुण्डलिनी दरबार बैंक्वेट, चण्डोल, काठमाडौंमा आयोजना हुँदैछ।
बुक क्लोजपछि सम्बन्धित कम्पनीको लाभांशका लागि नयाँ सेयर खरिद गर्ने लगानीकर्ता योग्य हुने छैनन्। त्यसैले यी चार कम्पनीको घोषित लाभांश सुरक्षित गर्न चाहने लगानीकर्ताका लागि आजको कारोबार नै अन्तिम अवसर हो।


