
ससुराको हत्या आरोपमा बुहारी पक्राउ, १० दिनको म्याद थप
जाजरकोट । जुनिचाँदे गाउँपालिका वडा नं. ५ पाँगामा ७५ वर्षका गंगाराम शाहीको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले निजकी माइली बुहारी शर्मिला शाहीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गत साउन ११ गते राति करिब ८ बजे गंगाराम शाही आफ्नै घरको सिँढी नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरिएको र मृत अवस्थामा फेला परेका थिए। घटनास्थलबाट हत्यामा प्रयोग गरिएको हतियार (हँसिया/खुकुरी) समेत बरामद भएको थियो।
अनुसन्धानका क्रममा मृतकका जेठा छोरा राज कुमार शाहीले असोज ७ गते माइली बुहारी शर्मिला शाहीविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले शर्मिलालाई निजकै घरबाट पक्राउ गरी असोज ८ गते हिरासतमा ल्याएको हो।
जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि पहिलो पटक १० दिनको म्याद थप गरी प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


