
कर्णालीका मुख्यमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विभागीय मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।
सम्झौतापछि उनले विकास बजेट समयसीमाभित्रै कार्यान्वयन गर्न र प्रदेश सरकारका गतिविधिलाई प्रभावकारी बनाउन मन्त्री तथा सचिवलाई निर्देशन दिए । कार्यसम्पादन सम्झौता औपचारिकतामा मात्र सीमित हुन नहुने बताउँदै मुख्यमन्त्री शाहीले त्यसको परिणाम नागरिकले सेवा प्रवाहमा अनुभूत गर्नुपर्ने बताए । ‘कार्यसम्पादन सम्झौता औपचारिकतामा मात्र सीमित रहनुहुँदैन । यसले सरकारको सेवा प्रवाह साँच्चै नागरिकले अनुभूत गर्ने खालको हुनुपर्छ,’ उनले भने ।
मुख्यमन्त्री शाहीले मन्त्रीहरूले सचिवसँग पनि कार्यसम्पादन सम्झौता गर्नुपर्ने बताए । सचिवहरूले मातहतका कार्यालयसँग समन्वय गरी कामको प्रगति, बजेट खर्च र तोकिएको समयभित्र योजना कार्यान्वयन भए–नभएको विषयमा नियमित अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।
‘यसले एउटा अनुशासन कायम गर्ने हो, कामप्रतिको लगाव राख्ने हो र समग्र हिसाबले प्रदेश सरकार आफ्ना नागरिकप्रति जिम्मेवार र जवाफदेही छ भन्ने सन्देश दिने हो,’ उनले भने ।
प्रदेश सरकारले योजना अनुगमन प्रणालीलाई प्रविधिसँग जोडेर लैजाने तयारी गरेको पनि मुख्यमन्त्री शाहीले बताए । अनुगमनलाई सहज, छिटो, नियमित र प्रभावकारी बनाउन छुट्टै प्रणाली विकास गरेर काम गरिने उनले जानकारी दिए ।
कार्यक्रममा मुख्यमन्त्री शाहीले सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्का, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कीत लामा कार्की र जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमालसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।
त्यस्तै, मुख्यमन्त्री शाहीले प्रमुख सचिव राधिका अर्यालसँग पनि कार्यसम्पादन सम्झौता गरेका छन् । प्रमुख सचिव अर्यालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरू रमेशकुमार केसी, लक्ष्मीकुमार विक र कानुन सचिव निधिराज न्यौपानेसँग कार्यसम्पादन सम्झौता गरेकी छन् ।
आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईसँग पनि कार्यसम्पादन सम्झौता गरिने र मन्त्रीहरूले सम्बन्धित सचिवसँग छिट्टै सम्झौता गर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।


