
कोरला नाकामा हिमपात र तल्लो मुस्ताङमा वर्षा: नेपाल-चीन व्यापार प्रभावित हुने जोखिम
काठमाडौं । मुस्ताङको उत्तरी चीनसँग सीमा जोडिएको कोरला नाका क्षेत्रमा सामान्य हिमपात भएको छ। उच्च हिमाली क्षेत्रमा मौसममा आएको अचानक परिवर्तनसँगै यस भेगमा चिसो तीव्र रूपमा बढ्न थालेको छ।
लोमान्थाङदेखि कोरला नाकासम्मका उच्च भूभागमा हिमपात भएपछि सीमावर्ती क्षेत्रको जनजीवन, दैनिक आवतजावत र व्यापारिक गतिविधि प्रभावित हुने जोखिम बढेको छ। मौसम प्रतिकूल बन्दै जाँदा कोरला नाका हुँदै भइरहेको नेपाल–चीन व्यापार तथा मालवाहक कन्टेनरको आवागमनमा समेत प्रत्यक्ष असर पर्न सक्ने देखिएको छ।
अत्यधिक चिसो र हिमपातका कारण मालवाहक कन्टेनर तथा अन्य सवारीसाधन सञ्चालनमा समस्या आउन थालेको एक सवारी चालकले बताए। उनका अनुसार अत्यधिक चिसोका कारण सवारीसाधनको इन्जिन स्टार्ट नहुने र सडक चिप्लो हुने जस्ता समस्या देखिन थालेका छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार लोमान्थाङदेखि घाँसासम्म तथा मुक्तिनाथसहित तल्लो मुस्ताङका क्षेत्रहरूमा निरन्तर वर्षा भइरहेको छ। यद्यपि, हिमपातका कारण जिल्लामा हालसम्म कुनै अप्रिय घटना वा दुर्घटना नभएको प्रहरीले स्पष्ट पारेको छ।
यसैबीच, स्थानीय बासिन्दाहरूले यस समयको हिमपात र वर्षालाई हिउँद तथा चिसो याम सुरु भएको प्राकृतिक सङ्केतका रूपमा लिएका छन्।
घरपझोङ गाउँपालिका-५ का ८३ वर्षीय कालबहादुर थकालीका अनुसार हिमाली क्षेत्रमा हिउँदको आगमन सूचकका रूपमा प्रत्येक वर्ष यस समयमा पर्ने पानी तथा हिमपातलाई स्थानीय भाषामा ‘तन्जे नन्जे’ भन्ने गरिन्छ। कहिलेकाहीँ यस्तो ‘तन्जे नन्जे’ ले उग्र रूप पनि लिन सक्ने उनी बताउँछन्।
विगतमा क्यालेन्डरको प्रचलन नहुँदा मुस्ताङका स्थानीयवासीले मौसममा आउने यस्तै परिवर्तन, वर्षा र हिमपातका आधारमा नै ऋतु तथा समयको अनुमान गर्ने गर्दथे। हाल पनि हिमाली भेगमा यस्ता प्राकृतिक सङ्केतलाई चिसो र हिउँद सुरु भएको दरिलो आधारका रूपमा बुझ्ने गरिएको छ।


