
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको छ । अन्नपूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, पाउद्वार, रातोपानी कुण्ड र रुप्से झरनामा प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर चालु आर्थिक वर्ष २०८३-०८४ मा रु एक करोड ३० लाख ६६ हजार पाँच सय ५५ आम्दानी गरिएकाे छ।
पुनहिल, पाउद्धार, रातोपानी र रुप्से झरनाको आय ठेक्का सम्झौता भइसकेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिए । उनका अनुसार भुरुङ्ग–तातोपानी कुण्डमा प्रवेश शुल्क उठाउन र चमेनागृह सञ्चालनका लागि न्यूनतम रु नौ लाख ५० हजार कायम गरेर आव्हान गरिएको आयठेक्काको प्रस्ताव मूल्याङ्कनको चरणमा रहेको छ ।
पूर्वाधार निर्माणको तयारीमा रहेको भुरुङ्ग–तातोपानी कुण्ड असोज र कात्तिक महिना सञ्चालनका लागि ठेक्का आव्हान गरिएको हो । अन्नपूूर्ण गाउँपालिका–६ स्थित पुनहिलमा प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि घोडेपानीको सन्नी होटलले रु ७१ लाख पाँच सयमा ठेक्का सम्झौता गरेको छ ।
पाउद्धार तातोपानी कुण्डको रु ५० लाख १० हजार, रातोपानीको रु चार लाख पाँच सय र रुप्से झरनामा प्रवेश शुल्क सङ्कलनका लागि रु पाँच लाख ५५ हजार पाँच सय ५५ मा ठेक्का सम्झौता भएको छ । पुनहिललाई रु ५२ लाख ५० हजार, पाउद्धार तातोपानीलाई रु २७ लाख ५० हजार, रातोपानी कुण्डलाई चार लाख र रुप्से झरनाको प्रवेश शुल्क उठाउन रु दुई लाख न्यूनतम शुल्क कायम गरेर ठेक्का आह्वान भएको थियो ।
सबै पर्यटकीयस्थलको ठेक्कामा न्यूनतमभन्दा थोरै मात्र बढी कबोलेका व्यवसायीहरुले अग्रिम रुपमा राजस्व जम्मा गरेर कानुनअनुसार १० प्रतिशत छुट पाएका छन् । सेकार्कु तातोपानी, नारच्याङ र महभिर झरनाको क्यान्टिन सञ्चालन गर्न कसैको पनि प्रस्ताव परेन् ।
गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिकरूपमा व्यवसाय करबापत हरेकलाई रु ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेवापत रु ३६ हजार वाहलबटौली कर लिने गरेको छ । मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटल, रेष्टुरेन्ट तथा कफी पसलबाट समेत व्यवसाय कर सङ्कलन गर्दै आएको छ ।
गत आर्थिक वर्ष २०८२–०८३ मा रु दुई करोड १२ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णले रु पर्यटकीयस्थलबाट रु एक करोड १५ लाख उठाएको थियो । चालु आर्थिक वर्षमा रु दुई करोड ५० लाख आन्तरिक आम्दानीको लक्ष्य राखिएकोमा पर्यटकीयस्थलको योगदान प्रमुख रहेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।
पुनहिल र भुरुङ्ग–तातोपानीमा नेपालीलाई प्रतिव्यक्ति रु ५० र विदेशीलाई रु एक सय ५० प्रवेशशुल्क कायम भएको छ । घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरु रहेको यस गाउँपालिकाको वडा नं ४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल रहेको छ ।
पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवर्द्धन गर्दै स्थानीयवासीको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक राजस्व बढाउनतर्फ जोड दिइएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा भुरुङ्ग–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि रु दुई करोड ३० लाख विनियोजन भएको योजना कार्यान्वयनको तयारीमा रहेको छ ।

