
बिजुलीमा लगाइएको भ्याट हटाइने
काठमाडौं । सरकारले बिजुलीमा लगाएको ५ प्रतिशत भ्याट हटाउने भएको छ । उक्त भ्याट हटाउनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच सहमति भएको हो । आइतबार ऊर्जामन्त्री श्रेष्ठ र अर्थमन्त्री डा. वाग्लेबीच भएको भेटमा ५ प्रतिशतको भ्याट हटाउने सहमति भएको उर्जा मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
ती अधिकारीका अनुसार ५ प्रतिशत भ्याट हटाउन ऊर्जामन्त्री श्रेष्ठले गरेको प्रस्तावमा अर्थमन्त्री सहमत भएका हुन् । अब भ्याट हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी रहेको छ । अर्थमन्त्री डा. वाग्लेले चालु आर्थिक वर्षको बजेटमार्फत् ५ प्रतिशत भ्याट लगाउने घोषणा गरेका थिए । जस अनुसार मासिक ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत भ्याट लागेको थियो ।
यसअघि पनि ऊर्जामन्त्रीले भ्याट हटाउने विषयमा अर्थमन्त्रीसँग छलफल गरेका थिए । तर, भ्याट हटाउने र नहटाउने विषयमा कुनै निष्कर्ष आएको थिएन । मन्त्रालयका अनुसार भ्याट हटाउने निर्णयले विद्युतीय चुलो, इन्डक्सन, हिटर, विद्युतीय सवारीसाधन चार्जिङ तथा अन्य विद्युतीय उपकरणको प्रयोग बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ। यसबाट एलपी ग्यास तथा पेट्रोलियम पदार्थमा निर्भरता घटाउने सरकारको नीतिलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ऊर्जा मन्त्रालयले लामो समयदेखि विद्युत् खपत वृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। पछिल्लो प्रस्ताव पनि त्यही रणनीतिको निरन्तरताका रूपमा हेरिएको छ। यद्यपि सैद्धान्तिक सहमति भइसके पनि भ्याट हटाउने निर्णय तत्काल कार्यान्वयनमा भने आउने छैन। यसको लागि प्रचलित करसम्बन्धी कानुनमा आवश्यक व्यवस्था मिलाउनुपर्ने भएकाले अर्थले राजस्वमा पर्ने प्रभाव, कानुनी प्रक्रिया तथा कार्यान्वयनको ढाँचाबारे थप अध्ययन गर्ने भएको छ। बिजुलीमा भ्याट हटेमा ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने लाखौं घरेलु उपभोक्ताले मासिक विद्युत् महसुलमा प्रत्यक्ष राहत पाउने निश्चित रहेको छ । भ्याट हेटमा बिजुली खपतमा समेत वृद्धि हुने मन्त्रालयका अधिकारीहरु बताउछन् ।

