
मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ । सडक डिभिजन भरतपुरका अनुसार आजदेखि उक्त सडकखण्डमा दुईतर्फी सवारी आवागमन खुला गरिएको हो ।
गत भदौ २२ गतेदेखि तुइन खोलामा खसिरहने पहिरो रोकथामका लागि ‘स्लोप स्टेबिलाइजेसन’को काम गर्न सडकखण्ड आंशिक रूपमा बन्द गरिएको थियो ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा नयाँ ट्र्याकबाट आजदेखि सवारीसाधन सञ्चालनमा आएपछि तुइनखोलामा पहिरो रोकथामको कामसँगै मुग्लिन–नारायणगढ सडकखण्ड पनि पूर्णरूपमा खुला गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
कृष्णभीरमा सडक अवरुद्ध भएका बेला सडक डिभिजन भरतपुरले वैकल्पिक व्यवस्थाका रूपमा तुइनखोलामा आंशिक सडक बन्द गरी पहिरो रोकथामका लागि स्लोप स्टेबिलाइजेसनको काम अघि बढाएको थियो ।
सडक डिभिजनका अनुसार तुइनखोलामा स्लोप स्टेबिलाइजेसनको काम भने जारी रहनेछ । अर्को सूचना जारी नभएसम्मका लागि मुग्लिन–नारायणगढ सडकखण्डमा दुईतर्फी सवारी आवागमन खुला गरिएको जनाइएको छ ।

