
सरकारको दुई महिनाको खर्च २ खर्ब पुग्दा राजस्व १ खर्ब ९० अर्ब
चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब २ खर्ब बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख बराबर छ । जुन वार्षिक लक्ष्यको ९.४१ प्रतिशत हुन आउँछ ।
कार्यालयका अनुसार सरकारले चालु शीर्षकमा हालसम्म ९.६ प्रतिशत बजेट खर्च गरेको छ । यो शीर्षकमा चालु आर्थिक वर्षका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख खर्च भएको हो । त्यस्तै, पुँजीगत शीर्षकमा ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख बजेट विनियोजन भएकोमा हालसम्म वार्षिक लक्ष्यको १.७८ प्रतिशत अर्थात् ७ अर्ब ६६ करोड ४८ लाख मात्रै खर्च भएको कार्यालयको तथ्यांकबाट देखिन्छ ।
वित्तीय व्यवस्था शीर्षकको हालसम्मको बजेट खर्च १६.५९ प्रतिशत छ । यो शीर्षकमा चालु आर्थिक वर्षका लागि ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख विनियोजन भएकोमा भदौ मसान्तसम्ममा ७० अर्ब १३ करोड ७० लाख बराबर खर्च भएको देखिएको हो । यस अवधिसम्ममा सरकारको खर्चको तुलनामा आम्दानी कम छ । भदौ मसान्तसम्मको कुल राजश्व संकलन वार्षिक लक्ष्यको ११.५८ प्रतिशत अर्थात् १ खर्ब ९० अर्ब १० करोड ७९ लाख छ । पछिल्ला २ महिनामा मात्रै सरकारको आम्दानी भन्दा खर्च करिब ९ अर्ब ७२ करोडले बढी रहेको छ ।
कर राजश्वतर्फ चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब ३ अर्ब ३१ करोड ८३ लाख उठाउने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको १२.२८ प्रतिशत अर्थात् १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख संकलन भएको छ । त्यस्तै, गैरकर राजश्वतर्फ १ खर्ब ७७ अर्ब उठाउने सरकारको लक्ष्य रहेकोमा हालसम्म ६.९ प्रतिशत १० अर्ब ७७ करोड ६९ लाख उठेको छ ।
चालु आर्थिक वर्षका लागि ६१ अर्ब ७४ करोड ५४ लाख प्रत्यक्ष वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा ८.९६ प्रतिशत अर्थात् ५ अर्ब ५३ करोड बराबर भित्रिएको कार्यालयले जनाएको छ ।

