
राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा प्रणाली कमजोर रहेको एक अध्ययनले देखाएको छ । सङ्ग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा व्यवस्था रहे पनि संस्थागत सुरक्षा नीति, नियमित सुरक्षा अडिट, प्रशिक्षित जनशक्ति, आपत्कालीन तयारी र राजनीतिक अशान्तिका समयमा सङ्ग्रहालय तथा सम्पदाको संरक्षण गर्ने स्पष्ट कार्यप्रणालीको अभाव रहेको अध्ययनले औँल्याएको हो ।
अन्तरराष्ट्रिय सङ्ग्रहालय परिषद् (आइकम) नेपालले गरेको ‘राजनीतिक द्वन्द्वको समयमा सङ्ग्रहालय उत्थानशीलता र सांस्कृतिक सम्पदाको सुरक्षा’ विषयक उक्त अध्ययनले राजनीतिक प्रदर्शनीका क्रममा सङ्ग्रहालयहरूले जबर्जस्ती प्रवेश, चोरी तथा लुटपाट, तोडफोड, आगजनी तथा धुवाँबाट हुने क्षति, भीड तथा नागरिक अशान्ति, सांस्कृतिक वस्तुको अवैध ओसारपसार, कर्मचारी तथा आगन्तुकको सुरक्षा, विद्युत् तथा आपत्कालीन सेवामा अवरोध र सङ्ग्रहालयका वस्तुको सुरक्षाको जोखिम सामना गर्नुपर्ने देखाएको छ ।
अध्ययनले २०२५ को ‘जेनजी’ आन्दोलनमा सिंहदरबारलगायत ऐतिहासिक तथा पुरातात्त्विक भवनमा क्षति पुग्नुका साथै कतिपय प्राचीन वस्तु तथा अभिलेखमा पनि क्षति पुगेको र केही सङ्ग्रहालय सञ्चालन तथा सञ्चालन सङ्कटमा परेको जस्ता घटनाका तथ्यहरू पनि उजागर गरेको छ ।
कार्यक्रममा पुरातत्त्व विभागका महानिर्देशक डा. सुरेश सुरस श्रेष्ठले राजनीतिक आन्दोलनको प्रभाव सङ्ग्रहालयका भवन वा वस्तुको भौतिक क्षतिमा मात्र सीमित नहुने भन्दै सङ्ग्रहालय बन्द गर्नुपर्ने अवस्था, सञ्चालन खर्च वृद्धि, आगन्तुक तथा आम्दानीमा कमी, चोरी–लुटपाट र अवैध कारोबारको जोखिम, कर्मचारीमा असुरक्षा तथा मनोवैज्ञानिक तनाव, संरक्षण कार्य र संस्थागत निर्णय प्रक्रियामा अवरोधजस्ता समस्या पनि उत्पन्न हुने अनुभव सुनाउँदै यो अध्ययनले सङ्ग्रहालय सुरक्षाको सवालमा नेपालमै पहिलो पटक यी आयामहरूलाई व्यवस्थित ढङ्गले बाहिर ल्याएको बताए ।
प्रा. डा. सोमप्रसाद खतिवडा, भीम नेपाल, डा. हरि थापाले अध्ययनलाई अझ विशिष्ट र विस्तृत बनाउन सङ्ग्रहालय सुरक्षासँग सम्बन्धित अन्तरराष्ट्रिय मापदण्ड, नेपालका विशिष्ट घटनाक्रमहरूलाई जोडेर विश्लेषण गर्न सुझाव दिए ।
कार्यक्रममा सहभागी नेपाल प्रहरी तथा सैनिक सङ्ग्रहालय तथा अन्य सङ्ग्रहालयका प्रतिनिधिहरूले अध्ययनले सङ्कटका समयमा स्थानीय समुदायलाई सङ्ग्रहालय संरक्षणको महत्वपूर्ण साझेदारका रूपमा प्रस्तुत गरेको पक्ष नेपालको सङ्ग्रहालय सुरक्षाको विशिष्ट पाटो रहेको र उक्त कुरा अध्ययनमा आउनुले यो अध्ययनले वास्तविक चित्र उजागर गरेको बताए ।
अध्ययनले समुदायले सङ्ग्रहालयलाई साझा सांस्कृतिक तथा नागरिक सम्पत्तिका रूपमा स्वीकार गर्ने, स्थानीय स्वयंसेवी पहल गर्ने तथा सङ्कटका समयमा शान्तिपूर्ण र गैर–टकरावपूर्ण व्यवहारमार्फत सहयोग गर्ने सम्भावना देखाएको छ ।
स्थानीय संस्कृति, पर्व, परम्परा र कथासँग जोडिएको सङ्ग्रहालयले समुदायसँग विश्वास निर्माण गर्न सक्ने अध्ययनले उल्लेख गरेको छ । तर समुदायको योगदानलाई अनौपचारिक पहलमा मात्र निर्भर नराखी स्थानीय समुदाय, विद्यालय, युवा समूह, सम्पदा अभियन्ता, सांस्कृतिक तथा धार्मिक संस्था र स्थानीय सरकारलाई समेटेर औपचारिक सञ्जाल निर्माण गर्नुपर्ने अध्ययनको सुझाव छ ।
अध्ययनले आगामी दिनमा सङ्ग्रहालय सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि भौतिक सुरक्षा, सङ्ग्रह संरक्षण, आपत्कालीन तयारी, अभिलेखीकरण, बीमा तथा सङ्कटपछिको पुनःस्थापनाका न्यूनतम मापदण्ड निर्धारण गर्नुपर्ने सिफारिस गरिएको छ ।
त्यस्तै, प्रत्येक सङ्ग्रहालयले राजनीतिक अशान्ति, आगलागी, भूकम्प, चोरी, तोडफोड, बाढी तथा भीडजन्य जोखिमलाई समेट्ने नियमित जोखिम मूल्याङ्कन र सुरक्षा अडिट गर्नुपर्ने तथा सङ्ग्रहालय कर्मचारी, सुरक्षा निकाय, स्थानीय सरकार, सम्पदा विज्ञ, स्वयंसेवक र समुदायका लागि नियमित तालिम तथा संयुक्त अभ्यास सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । यी जोखिमहरू ठूला सङ्ग्रहालय र साना सङ्ग्रहालयहरूका लागि फरक–फरक विशिष्टता भएकाले सोहीअनुसारको सुरक्षा व्यवस्था अपनाउन काम गर्न आवश्यक रहेको औँल्याइएको छ ।
अध्ययनको प्रारम्भिक नतिजा पुरातत्त्व विभाग र आइकम नेपालले आयोजना गरेको कार्यक्रममा सार्वजनिक गर्दै अनुसन्धानकर्ता तथा आइकम नेपालका सचिव ओमप्रकाश घिमिरेले तुलनात्मक रूपमा ठूला सङ्ग्रहालयमा सुरक्षा प्रणाली सन्तोषजनक रहे पनि साना सङ्ग्रहालयमा भने न्यूनतम सुरक्षा प्रणाली पनि नरहेकाले सुरक्षा जोखिम उच्च रहेको बताए ।
अध्ययनको निष्कर्षमा सङ्ग्रहालयलाई जोखिमसम्बन्धी ज्ञान, तयार जनशक्ति, संस्थागत समन्वय, समुदायको सहभागिता, नीति, पर्याप्त स्रोत, प्रविधि, अभिलेखीकरण र निरन्तर सिकाइलाई एकीकृत गरे मात्र सङ्कटका समयमा सङ्ग्रहालय, सङ्ग्रह, सांस्कृतिक स्मृति र सेवा निरन्तरता सुरक्षित गर्न सकिने अध्ययनले स्पष्ट गरेको छ ।

