
भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड रुपैयाँ संकलन

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा हालसम्म १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा रहेको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ नगद मौज्दात छ । त्यसैगरी, दुई वटा वाणिज्य बैंकमा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर पनि जम्मा रहेको जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा व्यवस्थापनका कार्यलाई तीव्र बनाउन प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) लाई निकासा गरिसकिएको छ ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले राहत, उद्धार र पुनर्स्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका व्यक्ति, संघसंस्था, निजी क्षेत्र तथा विभिन्न निकायसँग सहयोगका लागि सार्वजनिक आह्वान गरेको थियो । सोही आह्वानअनुसार विभिन्न स्रोतबाट प्राप्त आर्थिक सहयोग प्रधानमन्त्री राहत कोषमा जम्मा हुँदै आएको छ ।
सरकारले उक्त कोषबाट प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यक्रमलाई आवश्यकताअनुसार प्राथमिकताका आधारमा अघि बढाइने जनाएको छ ।

