
एभरेस्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता
सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको एभरेस्ट भ्यु ट्रेल रेसले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । पर्यटन प्रवर्द्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड दिएको साहसिक दौडले फ्रान्सको विश्वप्रसिद्ध ‘अल्ट्रा ट्रेल’ संस्थाबाट आधिकारिक मान्यता पाएको हो । अन्तर्राष्ट्रिय ट्रेल धावक संघले यस दौडलाई तीन अंक प्रदान गरेको छ ।
अन्तर्राष्ट्रिय मान्यताप्राप्त दौड पूरा गरेपछि धावकले दूरी र उचाइको कठिनाइका आधारमा अंक पाउँछन् । जसले विश्वप्रसिद्ध अन्य ठूला अन्तर्राष्ट्रिय दौडहरूमा छनोट हुन सहयोग पुर्याउँछ । नेपालमा आयोजना हुने मञ्जुश्री, सिन्धुपाल्चोक र रन उकुजस्ता दौड पनि अन्तर्राष्ट्रिय मान्यताप्राप्त हुन् । गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले स्थानीय संस्कृति र साहसिक यात्रासँग जोड्ने अभियानले सार्थकता पाएको बताएका छन् ।
‘अव स्थानीय प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई विश्वसामु पुर्याउन सहज हुनेछ,’ राईले भने । ४८ किलोमिटर लामो एभरेस्ट भ्यु ट्रेल दौडको उचाइ दुई हजार नौ सय १४ मिटर रहेको छ । दौड पूरा गर्नका लागि कम्तीमा सात घण्टा ४५ मिनेटको समयसीमा निर्धारण गरिएको छ । भौगोलिक रूपमा चुनौतीपूर्ण मानिएको यो दौडले धावकहरूको सहनशीलता र क्षमताको वास्तविक परीक्षा लिनेछ ।
यो दौडको सुरुवात समुद्री सतहबाट एक हजार आठ सय तीन मिटर उचाइमा रहेको निर्माणाधीन कोर्कु रंगशालाबाट महभीरतर्फ अघि बढ्नेछ । महभिर नेपालकै उत्कृष्ट चट्टान आरोहण र डोरीको सहारामा ओर्लिने गन्तव्यका रूपमा परिचित छ ।
दौडको सबैभन्दा उच्च विन्दु तीन हजार एक सय ८१ मिटर रहेको छ । ट्रेलको मुख्य धार्मिकस्थल कैलाशनाथ महादेव मन्दिर हो ।

