
राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीले बाढीपीडितलाई दिए १ करोड ३९ लाख सहयोग

काठमाडौं । नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारका लागि १ करोड भन्दा बढी रकम सहयोग गरेका छन् ।
राष्ट्र बैंकका अनुसार गभर्नर, डेपुटी गभर्नर तथा करार सेवामा कार्यरतसहित सम्पूर्ण कर्मचारीका तर्फबाट संकलित १ करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
राष्ट्र बैंकले सोमबार विज्ञप्ति जारी गर्दै गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारको सहयोगार्थ उक्त रकम प्रदान गरिएको जनाएको छ । बाढीले ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति पुर्याएपछि प्रभावितहरूको खोज, उद्धार, राहत र पुनस्र्थापनाका लागि विभिन्न सरकारी निकाय, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र र सर्वसाधारणबाट सहयोग जुट्ने क्रम जारी छ ।
यसै क्रममा मुलुकको केन्द्रीय बैंकका उच्च पदाधिकारीदेखि करार सेवामा कार्यरत कर्मचारीसम्मले सामूहिक रूपमा रकम संकलन गरी सरकारी उद्धार कोषमा योगदान गरेका हुन्। राष्ट्र बैंकले उक्त सहयोग रकम बाढीबाट प्रभावित व्यक्ति तथा परिवारको राहत एवं पुनस्र्थापनामा उपयोग हुने विश्वास व्यक्त गरेको छ।

