
ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारीहरूसँग भेटघाट गरेका छन्।
आइतबार दिउँसो छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर मन्त्री श्रेष्ठले उपचाराधीन घाइते कर्मचारी र उनीहरूका परिवारसँग भेट गरी स्वास्थ्य स्थितिबारे जानकारी लिएका हुन्।
मन्त्री श्रेष्ठले माथिल्लो त्रिशुली ३ ‘ए’ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई भेटेको उनका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनले जानकारी दिए। उनका अनुसार मन्त्री श्रेष्ठले कबिर महर्जनका परिवारसँग पनि भेट गरी हौसला प्रदान गरेका थिए।
यसैगरी मन्त्री श्रेष्ठले माथिल्लो त्रिशुली १ बाट उद्धार गरिएका चिनियाँ नागरिकसँग पनि भेटे। स्याफ्रूबाट उद्धार गरिएकी एक किशोरीलाई पनि मन्त्री श्रेष्ठले भेटेका थिए। भेटपछि मन्त्री श्रेष्ठले भने, “उहाँहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। पानी र लेदोका कारण भएका घाउहरू निको हुँदैछन्। शारीरिक चोटपटकहरू निको हुन थालेका छन् तर मानसिक र मनोवैज्ञानिक परामर्श भने आवश्यक छ।”
मन्त्री श्रेष्ठले उपचारमा खटिएका स्वास्थ्यकर्मी र उद्धारकर्मी सबैलाई धन्यवाद पनि दिए। “स्वास्थ्यकर्मीहरूले पनि एकदमै राम्रोसँग रेखदेख गरेका छन्,” उनले भने। छाउनी अस्पतालका डा. कर्णेल कुमार रोकाले मन्त्री श्रेष्ठलाई घाइतेहरूको उपचार तथा अवस्थाबारे जानकारी गराएका थिए।

