
विपद्को समयमा सरकारलाई पूर्ण सहयोग गर्छौं : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्नु पार्टीको नीति रहेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा बोल्दै सभापति थापाले संकटको समयमा सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने र कांग्रेसले त्यसलाई केन्द्रमा राखेर सहयोग गर्ने बताए ।
उनले राहत तथा उद्धार कार्यमा देखिएका कमजोरी औँल्याउनु सरकारको आलोचना नभई सहयोगकै एउटा हिस्सा भएको बताए । ‘कहाँ ग्याप छ, कहाँ काम हुन सकेको छैन भनेर औँल्याउनु आलोचना होइन, सरकारलाई सहयोग पुर्याउनु हो,’ उनले भने ।
थापाले कांग्रेसका केन्द्रीय सदस्य, सांसद तथा देशभरका निर्वाचित जनप्रतिनिधिलाई स्वेच्छिक रूपमा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आह्वान गरेका छन् । पार्टीका विभिन्न समितिबाट सङ्कलित रकम एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा बुझाउने उनले बताए ।
राहत वितरणमा दोहोरोपन नहोस् भनेर पार्टीले यस्तो निर्णय गरेको थापाको भनाइ छ । उनले विपद्का बेला राहत तथा उद्धारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए । विशेषगरी सुरुङ तथा जटिल भौगोलिक क्षेत्रमा फसेका नागरिकको उद्धारका लागि नेपालसँग पर्याप्त विज्ञता वा स्रोतसाधन नभए बाह्य सहयोग लिन संकोच गर्न नहुने उनले बताए ।
‘हामीसँग भएको स्रोतले मात्र पुग्दैन भने बाहिरको मद्दत लिएर भए पनि नागरिकको ज्यान जोगाउनुपर्छ,’ थापाले भने । यस विषयमा आफूले परराष्ट्रमन्त्रीसँग समेत छलफल गरिसकेको उनले जानकारी दिए ।
सभापति थापाले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका निर्णायक हुने बताए । सङ्घीय सरकारले स्थानीय सरकारसँग उचित समन्वय गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय तहलाई बाइपास गरेर विपद्को सामना गर्न नसकिने बताए ।
‘स्थानीय सरकारलाई बाइपास गरेर विपद्को सामना गर्न सकिँदैन । उनीहरूलाई नै सक्रिय र जिम्मेवार बनाउनुपर्छ,’ उनले भने । थापाले बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी अवस्थाबारे जानकारी लिने र थप राहतका लागि पहल गर्ने बताए । बैठकमा नुवाकोट, रसुवा र धादिङका कांग्रेस नेता तथा कार्यकर्ताले आ–आफ्नो क्षेत्रको बाढी तथा पहिरोबाट भएको क्षति र राहत तथा उद्धारको अवस्थाबारे जानकारी गराएका थिए ।

