
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्वारा ३ करोड रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका नागरिकहरुको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।
बिहीबार राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष डा. सुमन दाहालले अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरे। उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
हालै भोटेकोशी संगै त्रिशुली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै कयौं मानिसहरू हराईरहेका र अझै पनि उद्धार एवं राहतको पर्खाईमा रहेका छन् । बाढीबाट प्रभावित परिवारहरूलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत उक्त सहयोग प्रदान गरेको हो ।
अकल्पनीय विपदका कारण ज्यान गुमाउन विवश स्वदेशी एवं विदेशी नागरिकहरुप्रति राष्ट्रिय वाणिज्य बैंक परीवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै बेपत्ता एवं घाइतेको शिघ्र उद्धार एवं उपचारको कामना गर्दै प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको नायब प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए ।

