
बाढीको कहरः रसुवा, नुवाकोट र धादिङमा ३२ वटा पुल ध्वस्त

काठमाडौं । रसुवाको भीषण बाढीका कारण देशका मुख्य राजमार्ग तथा सडक सञ्जालमा ठूलो क्षति पुगेको छ । सडक विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढीका कारण विभिन्न जिल्लाका ३२ वटा साना–ठूला पुलहरू पूर्ण रूपमा बगेका छन् ।
सडक विभागका अनुसार ३ वटा पुलमा आंशिक क्षति पुगेको छ भने अन्य ६ वटा पुलहरू उच्च जोखिमका बीच जोगिएका छन् । बाढीको सबैभन्दा धेरै असर रसुवा, नुवाकोट र धादिङ जिल्लामा परेको छ ।
क्षतिको जिल्लागत विवरणः
रसुवा (१३ पुल ध्वस्त) : बाढीले सबैभन्दा धेरै क्षति रसुवामा पुर्याएको छ । यहाँ नेपाल–चीन जोड्ने मितेरी पुल (रसुवागढी), टिमुरे पुल (१ र २), चिलिमेस्थित भोटेकोशी र चिलिमे खोलाका पुल, स्याफ्रुबेँसी तथा भोटेकोशी क्षेत्रका बेलिब्रिज, स्याफ्रुबेँसी पुलका साथै त्रिशूली र मैलुङ क्षेत्रका ५ वटा पुलहरू पूर्ण रूपमा ध्वस्त भएका छन् ।
नुवाकोट (१४ पुल ध्वस्त) : नुवाकोटमा बेत्रावतीदेखि देवीघाटसम्मका १४ वटा पुलहरू बगेका छन्। जसमा बेत्रावतीको पुरानो र नयाँ पुल, त्रिशूली नदी पुल (तुप्चे), त्रिशूली बजारका दुईवटा पुल, सिमचौर पुल, मध्यपहाडी राजमार्गअन्तर्गत देवीघाटको पुल, ताँदी खोलाका दुई पुल र श्रीकाली, बुढसिंहघाट, रातमाटे तथा फोस्रेटारका पुलहरू समावेश छन्।
धादिङ (५ ध्वस्त, ३ आंशिक क्षति) : धादिङ खण्डमा स्याल्टार सडक पुल, घाटबेँसी पुल, मलेखुस्थित फुर्के खोला पुल र कोल्पु खोलाका दुई पुल गरी ५ वटा पुल ध्वस्त भएका छन्। साथै मास्तर पुल, जरेबगैँचा पुल र कोल्पु खोलाको नयाँ पुलमा आंशिक क्षति पुगेको छ।
यसैबीच गल्छी नजिकैको भिमढुङ्गा–लामिडाँडा सडक पुल, बेनीघाट, फिस्लिङ, चुम्लिङटार र मुग्लिन खण्डका पुलहरू भने बाढीको जोखिमबाट जोगिन सफल भएका छन्। पुलहरू ध्वस्त भएसँगै ती क्षेत्रहरूमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

