
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर

सुनसरी । बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका युक्ति चौधरी ६५ वर्ष पुगे । उमेरले विश्राम खोज्ने बेला भए पनि उनको जोस र जाँगर भने तन्नेरीको जस्तै छ । बिहान सबेरै उठेर तरकारी बारी पस्ने उहाँ बेलुका अबेरसम्म पनि उतै व्यस्त हुन्छन् ।
बिहानै बारीमा पसेर काँक्रा, बोडी, घिरौँला, लौका, सागपात, खोर्सानी र गोलभेँडाको स्याहार गर्दागर्दै उनलाई समय बितेको पत्तै हुँदैन । तरकारी बारीमा दिन बिताउने चौधरीलाई उमेरले काम गर्न छेकेको छैन । चौधरीको लयमा श्रीमती, छोरा, बुहारी पनि कृषि कर्ममा जुट्दै आएका छन् । परिवारका सबै सदस्यको साथ पाएपछि तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको चौधरी बताउँछन् ।
“हाल चार बिगाहामा विभिन्न प्रकारका मौसमी तरकारी उत्पादन गरिरहेका छौँ । परिवारको साथ पाएको छु । बारीभरि लटरम्मै तरकारी फल्छ । न रोजगारीको अभाव छ, न घर खर्च टार्न समस्या । वर्षभरि टिप्न र बेच्न भ्याइन भ्याइ हुन्छ,” उनले भने ।
परिश्रम र आत्मनिर्भरताको उदाहरण बनेका चौधरीले तरकारी खेतीबाट सबै खर्च कटाएर वार्षिक रु पाँच लाख बचत गर्ने गरेको सुनाए । उनले २०७८ सालमा रितिका कृषि फार्म दर्ता गरी एक बिगाहा जमिनबाट तरकारी खेती सुरु गरेका थिए । अहिले खेती विस्तार गरी चार बिगाहा पुर्याउनु भएको छ । यही उद्यममा अहिले परिवारका सबै सदस्य रमाइरहेको उनको भनाइ छ ।
“आराम गरेर घरमा बस्ने उमेर त हो तर पहिलेदेखि नै काम गर्ने बानी छ । अब बानी बस्यो, काम नगरी बस्नै सकिँदैन । सकुन्जेल गर्ने हो । हातखुट्टा चलेका छन्, तागत छँदै छ,” चौधरीले भने । उनले गाई, गोरु, बाख्रा र स्थानीय जातका कुखुरा पाल्दै आएका छन् ।
“घरैमा पालेका चौपायाबाट प्राप्त हुने जैविक मललाई तरकारी खेतीमा प्रयोग गर्छु । रासायनिक मलको प्रयोग घटाएर स्वस्थ र प्राकृतिक उत्पादन गर्न सहयोग पुगेको छ,” उनले सुनाए । उनको बारीमा उत्पादन भएको तरकारी सुनसरीका चक्रघट्टी, कालाबन्जर, बाङ्गे, चतरालगायत स्थानीय बजारमा बिक्री हुने गरेको छ । तरकारी बिक्रीका लागि बजारको समस्या नरहेको चौधरी बताउँछन् । धेरैजसो व्यापारी फार्ममा आएर तरकारी लैजाने गरेका छन् ।
“व्यापारी फार्ममा लिन आउँछन् । बजार मूल्य भन्दा केही कममा तरकारी दिने गरेका छौँ । यसले हामीलाई नै सहज भएको छ । नाफा घाटाको धेरै चिन्ता गर्नु पर्दैन,” उनले भने, “आफ्नै बारीमा उत्पादन हुने तरकारीबाट घरको भान्छाको आवश्यकता पूरा हुनुका साथै छोराछोरी तथा नातिनातिनाको पढाइ र घर खर्च चल्दै आएको छ ।
उनको पहिला टिनले बेरेको घर थियो । अहिले तरकारी खेतीबाट प्राप्त भएको आम्दानीले छोराको र आफ्नो घर बनाएको चौधरीले सुनाए । “तरकारी खेतीबाट आम्दानी राम्रो भएपछि छोराहरू विदेश जानु पनि परेको छैन । हामीलाई राम्रो छ,” चौधरीले मुस्कुराउँदै भने ।
मुख्य ‘सिजन’मा उनको फार्ममा दैनिक चार पाँच जनाले ज्यालादारीमा काम पाउँछन् । रोजगारी प्रवर्द्धनमा त्यसले सानै भए पनि सहयोग गरेको छ । तरकारी खेतीका लागि बराहक्षेत्र नगरपालिकाले ५० प्रतिशत अनुदानमा बीउ तथा मल उपलब्ध गराउँदै आएको चौधरीले बताए । दुई वर्षअघि सुनसरी कृषि ज्ञान केन्द्रबाट रु एक लाख अनुदान प्राप्त गरेको उनको भनाइ छ । यस्ता अनुदानले तरकारी खेतीमा केही हदसम्म सहयोग पुगेको र उत्पादनमा थप उत्साह मिलेको चौधरीले बताए ।
बराहक्षेत्रका अधिकांश स्थानीय तरकारी खेतीमा आत्मनिर्भर रहेको चौधरीको भनाइ छ । थोरै जग्गामा खेती गरे पनि उत्पादन राम्रो हुने भएकाले आम्दानी सन्तोषजनक हुने गरेको उनी बताउँछन् । बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले किसानलाई तरकारी खेतीबाटै आत्मनिर्भर बनाउँदै उत्पादनमा सहजता ल्याउन नगरपालिका लागिपरेको बताउँछन् ।
स्थानीय किसानको आर्थिक विकासका लागि जैविक तरकारी खेती, सिँचाइ सुविधा र उत्पादन निर्यात गर्न प्रोत्साहन स्वरूप हरेक वर्ष तालिम तथा अनुदान प्रदान गर्दै आएको उनले जानकारी दिए । सुनसरी जिल्लामा हाल आठ हजार ८६ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठको भनाइ छ ।

