
महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बीच औद्योगिक सम्बन्ध, लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले बीच मुलुकमा औद्योगिक सम्बन्ध सुदृढ बनाउने, लगानीको वातावरण सुधार गर्ने र रोजगारीका नयाँ अवसर विस्तार गर्ने विषयमा प्रतिवद्धता जनाएका छन् ।
महासंघको सचिवालयमा सम्पन्न दुवै पक्षका उच्चस्तरीय पदाधिकारीहरूको बैठकले दुई पक्षीय सम्बन्धलाई थप संस्थागत र परिणाममुखी बनाउने निर्णय गरेको हो । बैठकका क्रममा ’महासंघ–केन्द्र द्विपक्षीय समन्वय समिति सञ्चालनसम्बन्धी कार्यविधि’मा दुवै पक्षबीच सहमति कायम भई हस्ताक्षर तथा आदानप्रदान गरिएको छ । उक्त कार्यविधिले रोजगारदाता र ट्रेड युनियनबीच निरन्तर संवाद तथा सहकार्यलाई संस्थागत गर्ने र आपसी हितका विषयमा संयुक्त रूपमा काम गर्ने बलियो आधार तयार गर्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।
बैठकमा महासंघका अध्यक्षले नेपालमा श्रम सम्बन्ध सुधारिँदै गएको र रोजगारदाता बलियो हुनुका साथै श्रमिक सुरक्षित हुने वातावरण क्रमशः निर्माण भइरहेको बताए । सरकारले श्रम तथा रोजगारसम्बन्धी नीति र कानून बनाउँदा रोजगारदाता र श्रमिकलाई केवल साक्षीका रूपमा नराखी नीति निर्माण प्रक्रियामै अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, उमेर र पढाइसँगै काम गर्ने प्रणालीलाई प्रवर्धन गर्दा सीप विकास र उत्पादनशीलता अभिवृद्धिमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले यो द्विपक्षीय मञ्च सामान्य छलफलमा मात्र सीमित नभई श्रम क्षेत्रका व्यावहारिक समस्या पहिचान र समाधान गर्ने प्रभावकारी थलो हुनुपर्ने बताए । त्यस्तै, केन्द्रका निवर्तमान अध्यक्ष जगत सिखडाले रोजगारदाता र श्रमिक एकअर्काका परिपूरक भएकाले दुवै पक्षका समस्या समाधान गर्न दलगत तथा राजनीतिक सीमाभन्दा माथि उठेर काम गर्न तयार रहेको स्पष्ट पारे ।
महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले दुवै पक्षले औद्योगिक शान्ति, लगानीको अनुकूल वातावरण, रोजगारी संरक्षण तथा नयाँ रोजगारी सिर्जना र सामाजिक संवादलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । त्यस्तै रोजगारदाता परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष प्रबलजंग पाण्डेले समन्वय समितिमार्फत दुवै पक्षका चुनौतीहरूको अध्ययन गरी साझा समाधान खोजिने उल्लेख गरे ।
बैठकमा महासंघ उपाध्यक्ष कृष्ण प्रसाद शर्मा, कोषध्यक्ष मनिषलाल प्रधान लगायतका पदाधिकारी तथा महासंघका केन्दीय सदस्य, रोजगारदाता परिषद्का प्रतिनिधिहरूले समन्वय समितिमार्फत आगामी दिनमा श्रम कानून संशोधन, सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक र अनौपचारिक क्षेत्रको औपचारिकीकरणका विषयमा साझा धारणा निर्माण गर्नु पर्ने धारणा राखेका थिए ।
यसैगरी बैठकले जलवायु परिवर्तन, कृत्रिम बौद्धिकता, स्वचालन, गिग अर्थतन्त्र तथा ‘भविष्यको काम’ जस्ता आधुनिक चुनौतीहरूमा साझा रणनीति बनाएर सरकार, अन्तर्राष्ट्रिय श्रम संगठन र अन्य सरोकारवाला निकायहरूसँग संयुक्त रूपमा पहल गर्ने सहमति भएको छ ।

