
बार्सिलोनाको सानदार सुरुआत, एल्चेकाे पाेष्टमा ५ गाेल

काठमाडौं । बार्सिलोनाले २०२६-२७ सिजनको ला लिगा अभियानमा सानदार सुरुआत गरेको छ। राफिन्हा र फर्मिन लोपेजले समान २ गोल गरेपछि बार्सिलोनाले एल्चेलाई ५-० ले पराजित गरेको हो। स्टाडियो म्यानुएल मार्टिनेज भालेरोमा बार्सिलोनाले १४औं मिनेटमै अग्रता लियो। एल्चेका भिक्टर चुस्तले राफिन्हाको जर्सी तानेपछि प्राप्त पेनाल्टीमा राफिन्हाले कुनै गल्ती गरेनन्।
पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाले अग्रता दोब्बर बनायो। राफिन्हाको पासमा करिम अदेयेमीले गोल गर्दै ला लिगा डेब्यु खेललाई स्मरणीय बनाए।
दोस्रो हाफमा प्रशिक्षक हान्सी फ्लिकले लामिन यामाललाई विश्राम दिँदै एन्थोनी गोर्डनलाई मैदानमा पठाए। ला लिगामा डेब्यु गरिरहेका गोर्डनले मैदान प्रवेश गरेलगत्तै प्रभाव देखाए। उनको उत्कृष्ट पासमा राफिन्हाले ६०औं मिनेटतिर व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए।
चार मिनेटपछि गोर्डनकै पासमा फर्मिनले सहज गोल गर्दै टोलीको अग्रता ४–० बनाए। एल्चेले केही समयपछि गोल गर्ने राम्रो अवसर पाए पनि फाकुन्डो बुओनानोटेको प्रहार बारमा लागेर फर्कियो। ७९औं मिनेटमा फर्मिनले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको जित ५–० मा निश्चित भयो। उनले डिफेन्डरलाई छक्याउँदै नजिकैबाट उत्कृष्ट फिनिसिङ गरेका थिए।
गत सिजन ला लिगामा ९५ गोल गर्दै सबैभन्दा आक्रामक टोली बनेको बार्सिलोनाले नयाँ सिजनको पहिलो खेलमै आफ्नो आक्रामक क्षमता पुनः प्रदर्शन गरेको छ। अदेयेमी र गोर्डनजस्ता नयाँ खेलाडीले पनि टोलीको आक्रमणलाई थप धारिलो बनाएका छन्।
राफिन्हाका लागि भने यो प्रदर्शन विशेष रह्यो। बार्सिलोनाका लागि सबै प्रतियोगितामा उनले प्रहार गरेका नौवटै पेनाल्टी गोलमा परिणत गरेका छन्। एल्चेविरुद्ध उनले ३ गोल अवसर सिर्जना गर्नुका साथै आफ्ना तीनवटै प्रहार लक्ष्यमा राखे। बार्सिलोनाले एल्चेविरुद्ध ला लिगामा लगातार ११औं जित हात पारेको छ।

