
पर्वतमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते

पर्वत । पर्वतको फलेवास नगरपालिका– १०, कुर्घामा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। शनिबार दिउँसो करिब २ः३० बजेतिर लुङ्खुबाट बाच्छातर्फ जाँदै गरेको ध.१ह ६१ नम्बरको अटो ओरालो सडकमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब १० मिटर तल खसेको थियो।
दुर्घटनामा परी बिहादी गाउँपालिका– १, बाच्छा देउरालीका ४९ वर्षीय प्रेमबहादुर विक गम्भीर घाइते भएकामा उपचारका क्रममा प्रदेश अस्पताल कुश्मामा दिउँसो ३ः३९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा फलेवास– ११, पाङग्राङका ३६ वर्षीय मनबहादुर परियार (अटोचालक)सहित बिहादी– १, बाच्छा देउरालीकी २४ वर्षीया कविता विक, १५ वर्षीया अन्जुली विक र १३ वर्षीया दुर्गा विक घाइते भएका छन्।
घाइते सबैको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

