

पर्यटकीय केन्द्र बन्दै कमला नदीको झोलुङ्गे पुल




धनुषा । धनुषा र सिराहा जिल्लालाई जोड्ने कमला नदीमा बनेको मधेश प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुल हाल आन्तरिक तथा भारतीय पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेको छ । यो झोलुङ्गे पुलले धनुषाको कठाल र सिराहाको मलहनियाँलाई जोड्छ । एक हजार पाँच मिटर लम्बाइ भएको यो पुल एक वर्षअघि सञ्चालनमा आएको हो ।
मानिसलाई सहज आवतजावतका लागि बनाइएको यो पुल पर्यटनको नयाँ गन्तव्यका रूपमा विकसित भइरहेको छ । धार्मिक रूपमा महत्त्वपूर्ण मानिएको कमला नदीमाथि बनेको यो पुलमा चढेर रमाइलो गर्न र यहाँ समूहमा पिकनिक मनाउन भारतको बिहार राज्यदेखि नेपालका विभिन्न स्थानका पर्यटक आउने गरेका छन् । विशेषगरी आन्तरिक पर्यटक र भारतको जयनगर, मधुवनी, दरभङ्गालगायत टाढाटाढाका स्थानबाट पर्यटकको आगमनले यस क्षेत्रलाई आर्थिकरूपमा पनि सक्रिय बनाएको छ ।
स्थानीय विनोदकुमार मण्डलका अनुसार यस्तो पुल पहाडका मानिसका लागि नयाँ नहोला, तर भित्री मधेशका बासिन्दाका लागि यो एकदमै नौलो हो । ‘पुलले यस क्षेत्रमा व्यापारिक र पर्यटकीय गतिविधिलाई निकै प्रोत्साहन गरेको छ । सार्वजनिक बिदा र चाडपर्वका अवसरमा यहाँ मानिसको भिड थामिनसक्नु हुन्छ,’ उनले भने । सिराहाको तुलनामा धनुषाको कठालतर्फ बढी पर्यटक आउने र पसलहरू पनि थपिने क्रम बढेको मण्डलले बताए । पुल निर्माण र हेरचाहमा स्वयंसेवकका रूपमा योगदान गर्दै आउनुभएका सिभिल इन्जिनियर मण्डलले यो स्थानलाई थप व्यवस्थित बनाउन स्थानीय तहको सक्रियता आवश्यक रहेको जानकारी दिए । पर्यटन क्षेत्रलाई दिगो बनाउन प्रदेश र संघीय सरकारसँग सहकार्य गरी थप बजेटको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।
जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष विपिनदेव यादवले पुल सञ्चालनसँगै कठाल क्षेत्रलाई व्यवस्थित रूपमा पर्यटन क्षेत्रको रूपमा विकास गर्ने योजना रहेको बताए । पुलसम्म पुग्ने बाटोलाई कालोपत्रे गर्ने काम सुरु भइसकेको छ । आगामी योजनामा पर्यटकका लागि आवश्यक पूर्वाधार, जस्तै पिकनिक स्थल, विद्युतीयकरण, हरियाली प्रवर्धन र पर्यटक आवास स्थान निर्माणको योजना रहेको अध्यक्ष यादवले जानकारी दिए ।
स्थानीयका अनुसार यो झोलुङ्गे पुलले धनुषा र सिराहा मात्र होइन, मधेश प्रदेशकै पर्यटनलाई प्रवर्धन गर्न ठूलो भूमिका खेल्ने देखिएको छ ।
पर्यटकको घुइँचोले स्थानीय व्यापार बढाएको छ भने क्षेत्रीय पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने अवसर प्रदान गरेको छ । साथै, धार्मिक महत्त्वका साथसाथै मनोरञ्जन र पर्यटनको सम्भावनाले यस क्षेत्रलाई अझै धेरै पर्यटक आकर्षणको केन्द्र बनाउने अपेक्षा गरिएको छ । यसरी कमला नदीको झोलुङ्गे पुलले आर्थिक, सामाजिक र पर्यटन विकासमा एक सकारात्मक प्रभाव पार्दै मधेश प्रदेशको उज्ज्वल भविष्यको मार्ग प्रशस्त गरिरहेको स्थानीय कामेश्वर साहले बताए ।