
एक्सेल डेभलपमेन्ट बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले विभिन्न १० पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त तथा कोशी प्रदेशलाई कार्यक्षेत्र बनाएको बैंकले योग्य तथा इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
बैंकले हेड–फाइनान्सका लागि एक जना मागेको छ । यस पदका लागि बैंक तथा वित्तीय संस्थाको आन्तरिक लेखापरीक्षण वा लेखा क्षेत्रमा कम्तीमा ६ वर्षको अनुभव तथा हेड–फाइनान्स वा बैंक तथा वित्तीय संस्थाको आन्तरिक लेखापरीक्षणमा कम्तीमा २ वर्षको अनुभव आवश्यक पर्नेछ । मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन वा अर्थशास्त्रमा कम्तीमा ५० प्रतिशत वा सोसरह अंकसहित स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । चार्टर्ड एकाउन्टेन्ट वा सेमी–चार्टर्ड एकाउन्टेन्टलाई प्राथमिकता दिइनेछ ।
त्यस्तै, बैंकले रिस्क अफिसरका लागि एक जना मागेको छ। यसका लागि बैंक तथा वित्तीय संस्थाको कर्जा जोखिम विभाग वा कर्जा विभागमा कम्तीमा ५ वर्ष काम गरेको अनुभव र मान्यता प्राप्त विश्वविद्यालय वा संस्थाबाट व्यवस्थापन वा लेखाशास्त्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। चार्टर्ड एकाउन्टेन्ट तथा सेमी–चार्टर्ड एकाउन्टेन्टलाई प्राथमिकता दिइनेछ ।
ब्रान्च म्यानेजर पदमा १० जना कर्मचारी माग गरिएको छ । जुनियर अफिसरदेखि सिनियर अफिसरसम्मका लागि खुला गरिएको यस पदमा वाणिज्य बैंक वा राष्ट्रियस्तरको विकास बैंकमा कम्तीमा ५ वर्षको कार्यानुभव र सोमध्ये कम्तीमा १ वर्ष शाखा प्रमुखका रूपमा काम गरेको अनुभव आवश्यक छ। मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन वा अर्थशास्त्रमा कम्तीमा ५० प्रतिशत वा सोसरह अंकसहित स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
यसैगरी, बैंकले लिगल अफिसरका लागि एक जना मागेको छ। यस पदका लागि बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइनेछ। मान्यता प्राप्त विश्वविद्यालयबाट कानुन विषयमा विशेषज्ञतासहित स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। सफ्टवेयर डेभलपर पदमा एक जना माग गरिएको छ। बैंक तथा वित्तीय संस्थामा कम्तीमा ३ वर्षको अनुभव तथा सफ्टवेयर विकाससम्बन्धी काममा कम्तीमा १ वर्षको अनुभव आवश्यक पर्नेछ। मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर विज्ञानमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
सेमी क्वालिफाइड सीए पदमा दुई जना माग गरिएको छ। बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइनेछ भने बैंकिङ क्षेत्रमा काम गरेको अनुभव भएकालाई थप प्रोत्साहन गरिनेछ। रिलेसनसिप म्यानेजर पदमा केही कर्मचारी माग गरिएको छ। यसका लागि बैंक तथा वित्तीय संस्थामा कम्तीमा ३ वर्षको अनुभव र त्यसमध्ये कर्जा वा बजार व्यवस्थापनसम्बन्धी काममा कम्तीमा १ वर्षको अनुभव आवश्यक छ। मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक तह वा सोसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ।
सिक्युरिटी अफिसर पदमा एक जना माग गरिएको छ। नेपाल प्रहरीको जनपद वा सशस्त्र प्रहरीतर्फबाट अवकाशप्राप्त, प्रहरी नायब निरीक्षक वा निरीक्षक तहका उम्मेदवारले आवेदन दिन सक्नेछन्। सम्बन्धित उम्मेदवारसँग सुरक्षा व्यवस्थापन, गुप्तचरसम्बन्धी काम तथा सीसीटीभी निगरानीसम्बन्धी काममा कम्तीमा ५ वर्षको अनुभव हुनुपर्नेछ।
गोल्ड टेस्टर पदमा तीन जना कर्मचारी माग गरिएको छ। उनीहरू विराटनगर, बेलबारी र पथरीधाम शाखाका लागि हुनेछन्। यसका लागि न्यूनतम एसएलसी वा एसईई उत्तीर्ण गरेको हुनुपर्नेछ। सुनको मूल्याङ्कन वा जाँचसम्बन्धी व्यावसायिक तालिमको प्रमाणपत्र भएकालाई प्राथमिकता दिइनेछ। साथै, बैंक तथा वित्तीय संस्था वा सुनसम्बन्धी व्यवसायमा कम्तीमा २ वर्ष गोल्ड टेस्टरका रूपमा काम गरेको अनुभव आवश्यक पर्नेछ।
त्यस्तै, बैंकले ट्रेनी असिस्टेन्ट पदमा केही कर्मचारी माग गरेको छ। इलाम, मङ्गलबारे, फिक्कल, गौरीगञ्ज, पथरी शनिश्चरे र लेटाङ शाखाका लागि खुलाइएको यस पदमा नयाँ उम्मेदवारले समेत आवेदन दिन सक्नेछन्। मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन वा कम्प्युटर विज्ञानमा कम्तीमा ५० प्रतिशत वा सोसरह अंकसहित स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
योग्य तथा इच्छुक उम्मेदवारले आफूले आवेदन दिन चाहेको पद र रोजेको कार्यक्षेत्र उल्लेख गरी [email protected] मा आवेदन पठाउनुपर्नेछ। आवेदन आगामी भदौ १७ गते साँझ ५ः३० बजेसम्म पठाइसक्नुपर्नेछ र इमेलको विषयमा आवेदन दिइएको पद उल्लेख गर्नुपर्नेछ।


