
वाणिज्य बैंकहरुको नाफा करिब ७० अर्ब, नबिल अग्रस्थानमा, अन्यको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८२/८३ मा करिब ७० अर्ब खुद नाफा आर्जन गरेका छन् । हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले गत आवको असार मसान्तसम्म कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
बैंकहरुले गत आर्थिक वर्षमा कमाएको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.२७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २० वटा वाणिज्य बैंकहरूले कृल ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत आवमा सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । बैंकले असार मसान्तसम्म ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ३३.५० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अवधिमा धेरै नाफा कमाउने बैंकको दोस्रोमा कुमारी बैंक रहेको छ । बैंकको नाफा ३०५.९५ प्रतिशतले बढेर ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तेस्रोमा रहेको ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको भन्दा २२.६७ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै, समीक्षा अवधिमा एभरेष्ट बैंकको नाफा ४.७५ प्रतिशतले बढेर ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशत बढेर ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ पृगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा नेपाल बैंकले ४ अर्ब ५० करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ४६.२० प्रतिशत बढी हो । यो बैंकले अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ७ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत आर्थिक वर्षमा प्राइम कमर्सियल बैंकको नाफा २८.४८ प्रतिशतले बढेर ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले ३ अर्ब २० करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै एनएमबी बैंकको नाफा ४०.६० प्रतिशतले बढेर ४ अर्ब १ करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले २ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
सानिमा बैंकको नाफा पनि ३८.०१ प्रतिशतले बढेर ३ अर्ब ५५ करोड १ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले २ अर्ब ५७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा सिद्धार्थ बैंकले ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिललो आवको भन्दा ४.५४ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवमा ३ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै सिटिजन्स बैंकको नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल एसबिआई बैंकको नाफा १२.८८ प्रतिशतले बढेर २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले १ अर्ब ८१ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
हिमालयन बैंकको नाफा १ हजार ४१ प्रतिशतले बढेर १ अर्ब ४८ करोड ३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले १२ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अवधिमा लक्ष्मी सनराइज बैंकको नाफा घटेको छ । यो बैंकको नाफा २३.२६ प्रतिशतले घटेर ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले ४ अर्ब ६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ५.३८ प्रतिशतले घटेर २ अर्ब ८५ करोड २ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले ३ अर्ब १ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३६.५८ प्रतिशतले घटेर २ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले ४ अर्ब ३३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कृषि विकास बैंकको नाफा २९.५१ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
माछापुच्छ्रे बैंकको नाफा १२.२४ प्रतिशतले बढेर २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एनआईसी एशिया बैंकको नाफा १८ करोड १७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने बैंक ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । गत आर्थिक वर्षमा यो बैंकले आफ्नो नाफालाई धनात्मक बनाउन सफल भएको छ । समीक्षा अवधिमा प्रभु बैंक भने २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटामा रहेको छ । अघिल्लो आवमा बैंकले ८७ करोड २३ लाख रुपैयाँ खुद नाफा रहेको बैंक गत आवमा भने घाटामा पुगेको हो ।

