
१३० प्रतिशतले बढ्यो अपि पावरको नाफा, ईपीएस दोब्बर

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको नाफामा उच्च वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा १३० प्रतिशतले नाफा बढेको हो ।
वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ९६ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३०.०६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४१ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
विद्युत बिक्री आम्दानी सामान्य बढेपनि वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७.०६ प्रतिशत बढेको छ । कम्पनीको विद्युत बिक्रीको आम्दानी १ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा यस्तो आम्दानी १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको संचालन मुनाफा ९० करोड ८७ लाखबाट बढेर १ अर्ब ८ करोड पुगेको छ । कम्पनीको ब्याज खर्च ५७ करोड ७ लाखबाट घटेर ४३ करोड ३० लाख कायम भएको छ । कम्पनीको प्रशासनिक खर्च ४ करोड ८८ लाखबाट घटेर ३ करोड ८ लाखमा सिमित भएको छ । कम्पनीले गरेको लगानीको भ्यालुएसन १२ करोड १७ लाखबाट बढेर ४७ करोड ४१ लाख पुगेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ १९ पैसा बढेर १५ रुपैयाँ ६ पैसा पुगेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ५१ पैसा रहेको छ । ६ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ छ ।

