
दयनीय बन्दै पाल्पा सिमेन्टको अवस्था, नाफा सहित अधिकांश सूचकमा गिरावट

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको वित्तीय अवस्था कमजोर बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश सूचकमा गिरावट देखिएको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको भन्दा ५९ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी समेत घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८१ लाख रुपैयाँ रहेको कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्षमा घटेर ७७ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ । आम्दानीमा आएको गिरावटले कम्पनीको नाफामा प्रत्यक्ष असर पारेको देखिन्छ ।
कम्पनीको अन्य आम्दानी भने बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ९० लाख ५३ हजार रुपैयाँ रहेको अन्य आम्दानी गत आर्थिक वर्षको सोही अवधिमा बढेर १ करोड ८१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वित्तीय खर्चमा भने कमी आएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ५५ करोड ८४ लाख रुपैयाँ रहेको वित्तीय खर्च गत आर्थिक वर्षमा घटेर ३८ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । वित्तीय खर्च घटे पनि सञ्चालन आम्दानीमा आएको ठूलो गिरावटका कारण कम्पनीको खुद नाफा भने बढ्न सकेन ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ २३ पैसा कायम भएको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ १५ पैसा छ । प्रतिसेयर कुल सम्पत्तिको मूल्य २७५ रुपैयाँ ७ पैसा छ ।

