
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठमाडौं । सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ ।
सुबिसु र सुदूरपश्चिम रोयल्सबीच एनपीएलको आगामी सिजनका लागि सहकार्य गर्ने सम्झौता भएको हो । सहकार्यसँगै टोलीको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेट आवश्यकतामा सुबिसुले साझेदारी गर्नेछ ।
सुबिसु लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई जोड्ने उद्देश्यले सहकार्य गरिएको बताए ।
‘यस सहकार्यबाट हामी खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई अझ नजिकबाट जोड्ने प्रयास गर्नेछौँ। नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा सुबिसुको निरन्तर प्रतिबद्धता रहनेछ,’ साउदले भने ।
सुबिसु लिमिटेडका अध्यक्ष सुरेन्द्रबहादुर श्रेष्ठले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याइरहेको बताए ।
‘एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याइरहेको छ। सुदूरपश्चिम रोयल्ससँगको यो सहकार्य सुबिसुको खेलकुदप्रतिको निरन्तर प्रतिबद्धता हो। नेपाली खेलकुदको विकासमा हाम्रो सहकार्य आगामी दिनमा पनि जारी रहनेछ,’ उनले भने ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सुबिसुसँगको सहकार्यले टोलीको व्यावसायिक र डिजिटल पक्षलाई थप मजबुत बनाउने बताए ।
‘सुबिसुसँगको सहकार्यलाई हामीले केवल व्यावसायिक साझेदारीका रूपमा मात्र हेरेका छैनौं । नेपाली क्रिकेट र विशेषगरी सुदूरपश्चिम रोयल्सको यात्रामा प्रविधि र डिजिटल कनेक्टिभिटीको भूमिका महत्वपूर्ण छ । सुबिसुसँगको सहकार्यले हाम्रा समर्थक र टोलीबीचको सम्बन्धलाई अझ नजिक बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ,’ खड्काले भने ।
सुदूरपश्चिम रोयल्सले आगामी एनपीएल सिजनका लागि टोली निर्माणलाई तीव्रता दिइरहेको छ । टोलीले यसअघि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई पहिलो विदेशी खेलाडीका रूपमा पुनः अनुबन्ध गरिसकेको छ ।


